Artharajniti ~ राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताउनुभएको छ ।निर्वाचन आयोगले आयोग परिसर बहादुर भवनमा आयोजित जलपान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबैले एकजुट भएर काम गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– ‘लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’आयोगले यसपटक निर्वाचनमा मतदाताको सहभागिता बढाउने, मितव्ययिता र पारदर्शिता कायम गर्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने, हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्नेलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको उहाँको भनाइ रहेको छ ।
सो अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत हुँदै जानुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुनपर्ने र शान्तिपूर्ण रूपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा पनि यथावत राख्नुपर्ने बताउनुभयो ।निर्वाचन घोषणा भएपछि जारी गरिएको अध्यादेशअनुसार करिब १० लाख युवा मतदाताले उत्साहपूर्ण रूपमा मतदाता नामावलीमा नाम लेखाई निर्वाचनमा सहभागी भएर जनप्रतिनिधि चुनेको प्रधानमन्त्री कार्कीले बताउनुभयो । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गरेकामा उहाँले आयोगलाई धन्यवाद दिनुभयो ।



