Artharajniti ~ बिहीबारदेखि काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकांक १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकांक १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्यांकले देखाएको छ । काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा झरेको हो। एक्युआइको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । एक सय ५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार बिहीबार भएको वर्षाका कारण आज वायु प्रदूषण पनि कम भएको हो । ‘वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने र हावाले धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम हुन्छ,’ उनले भने। उनका अनुसार विगत २४ घण्टामा सबैभन्दा धेरै वर्षा बागमती प्रदेशको चितवनको नारायणी फिल्ड कार्यालयमा रहेको मौसम मापन केन्द्रमा १२६.२ मिलिमीटर मापन भएको छ ।



