डा.बाबुरामको उम्मेदवारी फिर्ता, संसदबाहिरै रहेर अभिभावक बन्ने घोषणा

Machchapuchchre Bank

Artharajniti  ~  प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट दिएको उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएको केही समयमै उनले आफ्नो निर्णय सच्याउँदै उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् । डा. भट्टराईले आफूलाई विभिन्न राजनीतिक दल, शुभेच्छुक र साथीभाइबाट चुनाव नलड्न सुझाव आएको बताए । एउटा दल विशेषको सांसद मात्र बन्दा भूमिका सङ्कुचित हुने र अहिलेको तरल राजनीतिक अवस्थामा सबैको साझा अभिभावक बन्नुपर्ने सुझावलाई स्वीकार गर्दै उनले उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारेका छन् । उनले अब संसद् बाहिरै रहेर राजनीतिक दलहरूलाई सल्लाह, सुझाव र मार्गनिर्देशन गर्ने बताए । सुरुवातमा निर्वाचन नलड्ने र कार्यकारी भूमिकामा नरहने उद्घोष गरेका भट्टराईले देशमा देखा परेको अन्योल, भूराजनीतिक चासो र संविधानका त्रुटिहरू सच्याउन संसद्मा आफ्नो उपस्थिति आवश्यक ठानेर मनोनयन दर्ता गराएका थिए । भारत, चीन र अमेरिकाजस्ता शक्ति राष्ट्रहरूको सामरिक चासो व्यवस्थापन गर्न र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न आफू संसद्मा जान खोजेको भए पनि अन्त्यमा बाहिरै बसेर भूमिका खेल्नु उपयुक्त हुने निष्कर्षमा उनी पुगेका हुन् ।

भट्टराईले भदौमा भएको ‘जेन्जी विद्रोह’ ले आफूले उठाउँदै आएको सुशासन र समृद्धिको मुद्दालाई पुष्टि गरेको दाबी गरे । ७० वर्ष पुगिसकेको अवस्थामा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने र आफू अभिभावकीय भूमिकामा सीमित हुनुपर्ने उनको भनाइ छ । उनले आफ्नो पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी लगायतका नयाँ दल र पुराना दलभित्रका अग्रगामी सोच राख्नेहरूलाई निस्वार्थ रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । गोरखामा लामो समयदेखि प्रतिनिधित्व गरेकाले त्यहाँका अधुरा विकास आयोजना र पूर्वाधार निर्माणमा आफ्नो चासो रहे पनि अब साझा व्यक्तित्वका रूपमा देशको समृद्धिका लागि लाग्ने उनले बताए । भट्टराईले शान्ति प्रक्रियाका बाँकी काम, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगका विषयहरू टुंगो लगाउन संसद् बाहिरबाटै दबाब र सहयोग गर्ने बताएका छन् । मनोनयन फिर्ता लिँदै उनले आफूलाई समर्थन गर्ने र सुझाव दिने सबैप्रति आभार व्यक्त गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्