Artharajniti ~ रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साह आगामी राजनीतिक यात्रा सँगै गर्ने समझदारी नजिक पुगेका छन् । यस यात्राको क्रममा यसपटकको चुनावमा बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउन रवि सकारात्मक बनेको स्रोत बताउँछ । समझदारी अनुसार दुई नेता अघि बढेमा अर्को चुनावमा भने बालेनले रविलाई सघाउने छन् । गएराति रास्वपा केन्द्रीय सदस्य असिम साहको म्युजिक कम्पनीको कार्यालय रहेको भवनमा बालेन र रवि लामिछानेबीच करिब ७ घण्टा वार्ता भएको थियो । वार्तापछि उनीहरु एउटै गाडीमा बाहिरिएका थिए । ‘सुरुमा बालेन, कुमार बेन, रवि र असिम साहबीच करिब ४५ मिनेट संयुक्त छलफल भयो । त्यसपछि असिम र कुमार बेनलाई बाहिर राखेर रवि–बालेनबीच ४–५ घण्टा एक्लाएक्लै छलफल भयो’, स्रोतले भन्यो । ‘वान अन वान’ वार्ताका विषय औपचारिक रुपमा सार्वजनिक भएका छैनन् । तर उनीहरु निकट स्रोत भने आगामी राजनीतिक यात्रा सँगसँगै गर्ने समझदारी बनेको बताउँछ । ‘यसबारे थप छलफल गर्न सम्भवत: आजै अर्को चरणको पनि वार्ताको तयारी भइरहेको छ,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार बालेन र रविबीच एउटै पार्टी बनाएर अघि बढ्ने र शक्ति बाँडफाँट कसरी गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । सोही छलफल अन्तर्गत कमलपोखरी बसाइको प्रबन्ध मिलाइएको थियो । सो बसाइमा यसपालि बालेनलाई भावी प्रधानमन्त्री बनाउन रविले सघाउने र अर्को चुनावमा रविलाई बालेनले सघाउने समझदारी बनेको उनीहरु निकट स्रोतको भनाइ छ । ‘आगामी प्रतिनिधि सभा निर्वाचनबाट बालेन चुनाव लड्ने र रविले बालेनलाई पूरै पाँच वर्ष प्रधानमन्त्री बन्न सघाउने भन्ने समझदारी बनेको छ,’ स्रोत भन्छ, ‘अर्को चुनावमा भने बालेनले रविलाई त्यसैगरी सघाउने कुरा छ ।’स्रोतका अनुसार बालेन रास्वपाको घण्टी चुनाव चिह्नलाई स्वीकार्न पनि तयार देखिएका छन् तर पार्टीको नाममा भने छलफल जारी छ । मिल्न बाँकी थप विषयमा निरन्तर छलफल जारी राख्ने समझदारी उनीहरुबीच भएको छ । बालेनसँग एकता र शक्ति बाँडफाँटमा रवि लचिलो देखिएका छन् । भैरहवा कारागारबाट मुक्त भएपछि चितवनको चौबिसकोठीमा आयोजित सार्वजनिक कार्यक्रममै रविले देश बन्ने सर्तमा आफू सबै त्याग्न तयार रहेको बताएका थिए ।



