कांग्रेसबाट ‘वृद्ध नेता’ नै सिफारिस !

Machchapuchchre Bank

Artharajniti  ~ कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पुस्तान्तरणको र नेतृत्व हस्तान्तरणको पक्षमा पार्टीभित्र सशक्त ढंगले लडिरहेका छन्, तर उनीहरूकै नेतृत्वमा रहेको कांग्रेसका स्थानीय कमिटीहरूबाट भने पुनः वृद्ध नेता र पटकपटक सत्तामा पुगेकाहरूलाई नै प्रतिनिधि सभामा उम्मेदवार बनाउन सिफारिस भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका झापा, मोरङ, सुनसरी र उदयपुरका १७ निर्वाचन क्षेत्रबाट क्षेत्रीय समितिले करिब ५१ जना उम्मेदवार सिफारिस गरेको छ । सिफारिसमा पर्नेहरूमा अधिकांश पुरानै अनुहार छन् भने केही नयाँ छन् । पटक–पटक सांसद र मन्त्री भएकाहरू नै पुनः सांसदको उम्मेदवार बन्ने दौडमा देखिएका छन् । यद्यपि कांग्रेसले स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सांसद र राष्ट्रिय सभाका सांसदहरूलाई उम्मेदवार सिफारिस नगर्न सर्कुलर नै जारी गरेको थियो ।

सुनसरीको क्षेत्र नम्बर ३ बाट गत निर्वाचनमा पराजित बनेका विजयकुमार गच्छदार यस पटक पुनः उम्मेदवार बन्ने लिष्टमा परेका छन् ।गच्छदार  हाल ७३ वर्षका भए । यस्तै सुनसरीको क्षेत्र नम्बर २ बाट सिफारिस भएका कांग्रेस नेता सिताराम मेहता पनि वृद्ध नेता हुन् । उनी उमेरले ७३ वर्ष लागेका छन् । यस्तै उदयपुरको क्षेत्र नम्बर १ बाट पुनः डाक्टर नारायण खड्का उम्मेदवारमा सिफारिस भएका छन् । उनीसहित विदुर बस्नेत लगायतको नाम सिफारिस भएको उदयपुर कांग्रेस स्रोतले बतायो । यद्यपि खड्का नै उम्मेदवार बन्ने उक्त स्रोत दाबी गर्छ । उदयपुरको सो क्षेत्रबाट खड्का पटक–पटक चुनाव लड्ने र जितेर मन्त्री बनेका व्यक्ति हुन् । उनी ७९ वर्ष पुगेका छन् ।त्यस्तै ६८ वर्षीय डाक्टर मिनेन्द्र रिजाल मोरङ क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन् । पुस्तान्तरण र जेनजी आन्दोलनको भावनाको सम्मान गर्नुपर्छ भन्ने धारणा राख्दै आएका उनी पुनः सांसद बन्ने दाउमा छन् । रिजाल संविधान सभा सदस्य तथा सांसद भइसकेका छन् । उनी यसअघि रक्षामन्त्री, संस्कृति मन्त्री, सूचना तथा सञ्चारमन्त्री बनिसकेका छन् । यस्तै मोङको क्षेत्र नम्बर १ बाटै उम्मेदवार सिफारिस भएका कांग्रेस मोरङका सभापति तथा पूर्वमन्त्री डिकबहादुर लिम्बू पनि पटक–पटक सांसद भएका व्यक्ति हुन् । विघटित संसदमा पनि लिम्बू नै निर्वाचित भएका थिए । मोरङको सो निर्वाचन क्षेत्रमा २०६४ साल यता उनै लिम्बूले टिकट पाएर चुनाव लडिरहेका छन् ।

मोरङको क्षेत्र नम्बर ४ मा पूर्वअर्थमन्त्री महेश आचार्य पुनः उम्मेदवार बन्ने दाउमा छन् । ७१ वर्षीय आचार्य यसअघि पटक–पटक सांसद बनेका छन् । यस पटक पुनः उनको नाम सिफारिस भएको छ ।मोरङकै क्षेत्र नम्बर ६ बाट एकल उम्मेदवार सिफारिस भएका डाक्टर शेखर कोइरालाको उमेर ७६ वर्षको भयो । उनी मन्त्रीको स्वाद चाख्न नपाएका नेता भए पनि पटक–पटक सांसद बनिसकेका छन् ।उता, झापाको क्षेत्र नम्बर ३ बाट भने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौलाको पनि नाम सिफारिस भएको छ । सिटौला हाल राष्ट्रिय सभाका सांसद हुन् । आफ्नो क्षेत्रबाट आफ्नै छोरालाई टिकट दिलाउन उनी लागेको काग्रेसकै नेताहरू बताउँछन् । यस्तै झापा–४ बाट जिल्ला सभापति देउमान थेबेको नाम सिफारिस भएको छ । थेबे यसअघि पनि पटकपटक निर्वाचन लडेर पराजित भएका व्यक्ति हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्