Artharajniti ~ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि भारत र पाकिस्तानबिचको युद्ध रोकेको दाबी गरेका छन्। पेन्सिलभेनियामा भएको एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले ‘बितेका १० महिनामा आफूले कोसोभो-सर्बिया र पाकिस्तान-भारतसहित आठवटा द्वन्द्वहरू समाप्त पारेको’ बताएका हुन्। उनले इजरायल र इरान, इजिप्ट र इथियोपिया, अर्मेनिया र अजरबैजानका बिचको तनाव पनि आफूले समाधान गरेको दाबी गरे। ट्रम्पको यो दाबी भारतले तेस्रो पक्षको मध्यस्थतालाई निरन्तर अस्वीकार गर्दै आएको सन्दर्भमा आएको हो। यद्यपि, मे महिनाको एउटा सङ्घर्षविरामपछि ट्रम्पले भारत र पाकिस्तानबीच शान्ति स्थापना गर्न भूमिका खेलेको दाबी दोहोर्याउँदै आएका छन्।
थाइल्याण्ड र कम्बोडियाबिच सोमबारदेखि नै सीमावर्ती क्षेत्रमा फेरि सङ्घर्ष भड्किएको खबरहरू आएका छन्। यस वर्षको मे महिनामा जब छिमेकी मुलुकहरूबिच सङ्घर्ष चर्किएको थियो, तब ट्रम्पले मध्यस्थता गरेर सङ्घर्षविराम गराएको दाबी गरेका थिए। मे महिनादेखि हालसम्म दुई देशबिचको सङ्घर्षमा ४० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। ट्रम्पले ‘हामी सबै तागतका साथ शान्ति स्थापना गरिरहेका छौँ’ भन्दै थाइल्याण्ड र कम्बोडियाको द्वन्द्व समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।



