पोखरा विमानस्थल निर्माण अनियमिततामा बहुदलीय संलग्नता

Machchapuchchre Bank

Artharajniti  ~  प्रशासनिक नेतृत्व र कर्मचारीहरूलाई मात्र बढ्ता निशाना बनाउने गरेको आरोप खेप्दै आएको अख्तियारले पोखरा विमानस्थल निर्माणमा भएको ८ अर्ब भन्दा बढीको अनियमिततामा ठूलो संख्यामा उच्च राजनीतिक नेतृत्वमाथि पनि भ्रष्टाचारको मुद्दा लगाएको छ ।भ्रष्टाचारको मुद्दा लागेकाहरूमा वर्षौंदेखि सत्ताको हालीमुहाली गरिरहेका कांग्रेस एमाले र तत्कालीन माओवादीबाट मन्त्री बनेकाहरु छन् । अख्तियारले एउटै भ्रष्टाचार मुद्दामा यति धेरै पूर्वमन्त्री र सचिवहरुविरुद्ध मुद्दा चलाएको यो विरलै घटना हो ।कांग्रेसबाट पटक-पटक अर्थमन्त्री बनेका डा. रामशरण महतमाथि मुद्दा लागेको छ । उनी छ पटक मन्त्री बनेका थिए । भ्रष्टाचारको मुद्दा खेप्ने भीम आचार्य र दीपक अमात्य एमालेबाट मन्त्री बनेका थिए ।त्यस्तै पोस्टबहादुर बोगटी माओवादीबाट मन्त्री बनेका थिए । भ्रष्टाचार मुद्दा लाग्ने रामप्रसाद श्रेष्ठ पनि २०७० सालको खिलराज रेग्मीको चुनावी सरकारमा माओवादीकै सिफारिसमा मन्त्री बनेका व्यक्ति हुन् ।

बोगटीको निधन भइसकेकाले उनको मुद्दा पूर्वसांसद समेत रहेकी पत्नी राममाया बोगटीमाथि लगाइएको छ । पूर्वमन्त्रीहरुमध्ये रामकुमार श्रेष्ठ यसअघि नै गैरकानूनी सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका छन् । उनीमाथि पतञ्जली जग्गा प्रकरणमा पनि मुद्दा चलिरहेको छ । डा. महत बाहेक चार जना पूर्व पर्यटनमन्त्री हुन् ।आयोगले यी पाँच पूर्वमन्त्रीहरु, ९ जना पूर्वसचिवहरू, २ चिनियाँ कम्पनीका प्रतिनिधिसहित ५५ जना र एक चिनियाँ निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको हो । हालसम्म दायर भएकोमध्ये विगोका दृष्टिकोणले कर फर्स्यौट आयोगको भ्रष्टाचार मुद्दापछि यो दोस्रो ठूलो मुद्दा हो । गतवर्ष संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थल निर्माणमा झण्डै १० अर्ब अनियमितता भएको भनी तयार पारेको प्रतिवेदन अख्तियारमा पठाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्