Artharajniti ~ नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले ‘सोधपुछ’ गरेको छ । भोटाहिटी स्थित साइबर ब्युरोमा बोलाएर बस्नेतसँग सोधपुछ थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले बताए । विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता गरेका जाहेरीबारे बयान दिन बुधवार बस्नेत ब्युरोमा उपस्थित भएका हुन् । उनीसँग ‘बयान कागज’ गर्न सोधपुछ भइरहेको छ । बस्नेतविरुद्धको जोहेरी यसअघि ब्युरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो । जेनजी प्रदर्शनपछि बस्नेतले पीडितलाई संकेत गरेर महिला केन्द्रित अपशब्द लेखेको र महेश बस्नेत फ्यान क्लबमा पनि पीडितबारे अनर्गल कुराहरू लेखिएको भन्दै सरकारी वकिल कार्यालयले असोज ५ मा ब्युरोलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि प्रहरीले पक्राउ अनुमति मागेपनि मंगलबार काठमाडौँ जिल्ला अदालतले ‘थप प्रमाण’ बुझेर ल्याउन भनेको थियो । बस्नेतले फेसबुकमा पीडितलाई लक्षित गरेर लेखेको शब्द र फ्यान क्लबमा लेखिएको विषयबारे अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् । बस्नेतविरुद्धको बलात्कार र भ्रूणहत्या मुद्दा नचलाउने सरकारको निर्णयबारे चाहिँ उच्च अदालत पाटनमा परेको रिट विचाराधीन अवस्थामा छ ।
साइबर ब्युरोमा महेश बस्नेतसँग सोधपुछ
