Artharajniti ~ भदौ २३ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूको हत्या भएको भन्दै जेनजी प्रतिनिधिहरूले सामाजिक सञ्जालमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न अभियान चलाइरहेका छन्। सोमबार साँझ ‘हामी नेपाल’ समूहका संयोजक सुदन गुरुङसहितको टोली काठमाडौँ जिल्ला प्रहरी परिसरमा जाहेरी नै लिएर पुगेका थिए । यद्यपि प्रहरीले उक्त जाहेरी दर्ता गर्न मानेन।यता, जेनजी समूहको दबाब बढ्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा कार्कीले गृहमन्त्री ओम प्रकाश अर्यालसहित सोमबार राति नै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन्।छलफलका क्रममा प्रहरीले जाहेरी दर्ताका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन र लिखित आदेश आवश्यक पर्न सक्ने भन्दै आफ्नो धारणा प्रस्तुत गर्यो।
गृहमन्त्री अर्याल भने ओली र लेखकसहितलाई तत्काल पक्राउ गर्ने पक्षमा जोडबल गरेका थिए । गृह मन्त्रालय स्रोतले भन्यो, ‘उहाँले आज (मंगलबार) नै पक्राउ गर्न मिल्दैन? भन्दै प्रहरीलाई प्रश्न गर्नुभएको थियो। तर प्रहरीले यसमा ठोस जवाफ दिएजस्तो लागेन। यस विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रधानमन्त्री कार्कीसँगको भेटमा गोली चलाउनेलाई नछोड्न भनिसकेको स्रोतको दाबी छ। यद्यपि, चारवटै प्रमुख सुरक्षा निकायहरूले देशको अवस्था र शान्ति कायम गर्ने कुरामा संयम अपनाउनुपर्ने ब्रिफिङ गरेका थिए। गृह मन्त्रालय स्रोतका अनुसार आन्दोलनको छानबिन गर्न बनेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन कुर्ने कि तत्काल ‘एक्सन’ लिने भन्ने विषयमा निर्णय भइसकेको छैन। स्रोतले थप्यो, ‘सकेसम्म छिट्टै पक्राउ गर्नेमा मन्त्री आफैँ लागि परेका छन्, उहाँले त मंगलबार नै पक्राउ गर्नुपर्नेमा जोड दिनुभयो तर त्यो हुन सकेन।’