Artharajniti ~ नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा उभिएको छ ।यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समितिमा रुपान्तरित गर्दा नै चुनावको पक्षमा उभिने निर्णय भएको हो ।अझै चुनाव हुने वा नहुने भन्ने अन्योल राजनीतिकदलहरू र आम नागरिकमा समेत छ । यो विषयमा सोमबार बसको माओवादी केन्द्रको सचिवालय बैठकमा समेत भयो ।दिउँसो १ बजे बस्ने भनिएको बैठक ढिलो गरी पौने दुई बजेतिर सुरु भएको थियो । साढे तीन बजेसम्म करिब पौने दुई घण्टा चलको बैठकमा मुख्यत: चार वटा विषयमा छलफल भएको थियो बैठकको सुरुमा प्रदेश अध्यक्षहरूले गत शनिबार अविरल वर्षासँगै आएको बढी र पहिरोबारे ब्रिफिङ गरेका थिए । पार्टीका नेता/कार्यकर्ता विपद् व्यवस्थापनमा सक्रिय रहेको बताए । प्रदेश अध्यक्षहरूले समसामयिक विषयमा समेत प्रष्टता आवश्यक रहेको बताए ।
त्यसपछि प्रचण्डले सम्बोधन गरे । चार वटै विषयमा प्रचण्डले सिलसिलेबार ब्रिफिङ गरे । विपद् व्यवस्थापनका लागि पार्टीका सबैस्तरका पार्टी कार्यालयमा हेल्प डेस्क नै राखेर काम गर्ने गरी निर्देशन भइसकेको उल्लेख गर्दै प्रचण्डले सोही अनुसार जानुपर्नेमा जोड दिए । पार्टीको विशेष महाधिवेशनका सन्दर्भमा आफूले एउटा खाका केन्द्रीय समितिमा नै प्रस्तुत गरेको बताएका प्रचण्डले महाधिवेशनमा छनोट भएर आउने प्रतिनिधिहरूका सन्दर्भमा थप छलफल गरेर अर्को बैठकमा ठोस निर्णय लिने बताए । यो सँगै सोमबार बसेको सचिवालय बैठकले महाधिवेशनको मिति तोक्न सकेन । आगामी मंसिरको चौथो सातासम्म विशेष महाधिवेशन गर्ने निर्णय भइसकेको छ । तर, कति गते भन्ने तय भएको छैन । बरु अध्यक्ष प्रचण्डले अन्य पार्टीहरूसँग एकताको विषय र आगामी फागुन २१ गतेका लागि तय भएको चुनावको सन्दर्भमा अलिक लामै ब्रिफिङ गरेका छन् ।नेताहरूका अनुसार सोमबार सचिवालय बैठकमा प्रचण्डले धेरै समय आगामी फागुन २१ गतेका लागि तय भएको चुनावको विषयमा धारणा राखे । माओवादीको काँधमा मुलुकलाई चुनावमा लैजाने वातावरण बनाउने जिम्मेवारी आएको प्रचण्डको ब्रिफिङ छ । बैठकपछि पनि प्रचण्डले यही भनेका थिए ।‘घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो’ प्रचण्डले पत्रकारहरूसँग भने, ‘हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ ।’
प्रचण्डका अनुसार चुनावमा सहभागी हुने बारे अरू दलहरूसँग पनि संवाद भइरहेको छ, ‘अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ । मलाई लाग्छ केही समयपछि त्यसको परिणाम देखिन्छ ।,’तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड रहेको उल्लेख गर्दै पौडेलले प्रचण्डको भनाइ उद्धृत गर्दै अनलाइनखबरसँग भनेका छन्, ‘चुनावको विकल्प भनेको प्रतिनिधि सभा विघटन हो । त्यतातिर लागियो र चुनाव भएन भने मुलुक झन् अस्थिर हुन्छ ।’अर्का नेताका अनुसार नेपालमा नियन्त्रित अस्थिरता चाहनेहरूबाट मुलुकलाई बचाउन पनि तोकिएकै समयमा चुनाव हुनुपर्ने प्रचण्डको ब्रिफिङ छ ।उनका अनुसार प्रचण्डले भनेका छन्, ‘एक कोणबाट संविधान समातेर नै सरकार बनेको छ । तोकिएको समयमा चुनाव भएन भने यो सरकार सफल/असफल भन्ने तिर कोर्स जान सक्छ । त्यस्तोमा चलखेल गर्नेहरू थप बलिया हुन्छन् र नियन्त्रित अस्थिरता चाहनेले फेरि जित्ने र मुलुकले थप दु:ख पाउने अवस्था बन्न सक्छ ।’ती नेताको भनाइमा आगामी चुनाव समयमा नहुँदा आउन सक्ने अवस्थाबारे लामै ब्रिफिङ गरेका प्रचण्डले संसद् पुर्नस्थापनातिर लागे झन अस्थिरता हुने निष्कर्ष सुनाएर सोही अनुसारको भूमिका खेल्ने नै पार्टीको वर्तमान नीति रहेको प्रष्ट सन्देश दिएका छन् ।