Artharajniti ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षाका लागि आगामी२१ फागुनमै चुनाव हुनुपर्ने बताएका छन् । यसका लागि पार्टीले वातावरण बनाउन मेहनत गर्नुपर्ने उनको प्रस्ताव छ । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा प्रचण्डले सम्बोधन गरिरहेका छन् । त्यसक्रममा उनले भने, ‘लोकतन्त्र रक्षाका लागि २१ फागुनको निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने हो ।’ २३ र २४ भदौमा भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनका लागि चुनावको मिति तोकेका छन् । उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने माओवादी अध्यक्ष प्रचण्डले बताएका हुन् ।
” लोकतन्त्र रक्षाका लागि २१ फागुनमै चुनाव हुनुपर्छ ” : प्रचण्ड
