“पार्टी र देशको भविष्यका लागि कठोर निर्णय लिनु जरुरी छ ” : महामन्त्री थापा

Machchapuchchre Bank

Artharajniti  ~  कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र आमुल सुधारका लागि नियमित वा विशेष महाधिवेशबाट नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले शनिबार भिडियो सन्देशमार्फत उनले जेन-जी आन्दोलनले उठाएका मागलाई सम्बोधन गर्न पनि सबैभन्दा पहिला पार्टीमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताए । उनले पार्टीको पुनर्गठन नभए आन्दोलनमा व्यक्त भएको भावना र युवाहरूको अपेक्षा सम्बोधन गर्न नसकिने चेतावनी दिए । थापाले पार्टीको नेतृत्व र नीतिमा आमूल परिवर्तनका लागि तत्काल अधिवेशन गर्नुपर्नेमा जोड दिए । त्यसका लागि नियमित र विशेष अधिवेशन दुई वटा विकल्प रहेको उनको भनाइ छ ।पार्टीको सान्दर्भिकता जोगाउन र युवापुस्ताको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न आफूहरुले तत्काल पार्टीभित्र हस्तक्षेप गर्ने संकेत दिएका छन् । ‘यत्रो उथलपुथल भएको छ, के हामीले पार्टीलाई जस्ताको तस्तै राखेर टिकाउन सक्छौं, यो सम्भव छैन,’ उनले भने । थापाले आफू र अर्का महामन्त्रीले सही विषयहरू उठाए पनि तिनलाई टुंगोमा पुर्‍याउन नसकेकोमा आत्मालोचनासमेत गरे । ‘हामीले जहिले पनि सही कुरा उठायौं, तर बीचमै छाड्यौं । यो हाम्रो कमजोरी हो । यो पटक हामी छाड्दैनौं ।’उनले विशेष महाधिवेशनले नयाँ नेतृत्वमात्र होइन, पार्टीको नीति र कमजोरी सुधार्ने अवसर पनि प्रदान गर्ने बताए । ‘यो केवल नेतृत्व चयनको कुरा होइन, यो पार्टीको नीति, नियम र कमजोरी सुधार्ने मौका पनि हो । हामीले यो अवसर गुमाउनु हुँदैन’, थापाले भने, ‘हामी मनाउने र फकाउने प्रयास गर्छौं, तर यदि कोही मान्न तयार भएन भने हात उठाएर होइन, अगाडि बढ्नुपर्छ । यो कदम पार्टी र देशको हितका लागि अपरिहार्य छ । हामी संवेदनाहीन छैनौं तर पार्टी र देशको भविष्यका लागि कठोर निर्णय लिनु जरुरी छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्