Artharajniti ~ अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन गराउने, विध्वंस मच्याउनेहरूको छानबिन गर्ने, जेन–जीको मागअनुसार भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने र निजी क्षेत्रको मनोबल उठाउन कदम चाल्ने गरी मुख्य चार कार्ययोजना अघि सारेकी छन् । जेन–जीको सोचअनुसार सुशासन, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, भौतिक क्षतिको मूल्यांकन गरी कार्ययोजना बनाउनुपर्ने प्रधानमन्त्री कार्कीले बताइन् । ‘आगामी दिनहरूमा जेन–जी युवा पुस्ताको सोचअनुसार काम गर्नुपर्ने भएको छ,’ उनको भनाइ थियो, ‘समयको मागअनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन, गुड गभर्नेन्स र आर्थिक समानताको काम गर्न अठोट गर्नुपर्नेछ । क्षतिको मूल्यांकन गरी आगामी कार्ययोजना बनाउनुपर्नेछ ।’ जेन–जीले आन्दोलन सुरु गर्नुअघि ‘एन्टी करप्सन’ लाई मुख्य मुद्दा बनाएका थिए । प्रधानमन्त्री कार्कीले प्रदर्शनमा मारिएका व्यक्तिका परिवारलाई जनही १० लाख, घाइतेको निःशुल्क उपचार, आफन्तको उपचारका लागि काठमाडौंमा बस्नेहरूको खर्च व्यवस्थापन र मृतकको शव गृहजिल्ला लैजाने व्यवस्था सरकारले मिलाउने बताइन् ।
प्रधानमन्त्री कार्कीले अघि सारिन् मुख्य ४ कार्ययोजना
