Artharajniti ~ राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्। आज नेपाल कला परिषद्द्वारा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्ने बताए । राष्ट्रपति पौडेलले भने, “लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेसाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । त्यसैले, प्राप्त अवसरको उपयोगगरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्छ ।” नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उनले भने, “सदियौँ पुराना कला, संस्कृति तथा सम्पदाहरूको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने दायित्व सरकार, निजी संस्थासहित हामी सबैको हो ।”
“संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन् ” : राष्ट्रपति पौडेल
