Artharajniti ~ नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ। गोदावरीस्थित सनराइज हलमा सुरु हुने नेकपा (एमाले)को महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।यसअघि सचिवालय बैठकले स्वीकृत कार्यतालिका अनुसार ४० मिनेटको उद्घाटन सत्रपछि दस्तावेज प्रस्तुत गरिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे। बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले महाधिवेशनको एजेन्डा र छलफलका विषयलाई अन्तिम रूप दिँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता सम्बन्धी विषयलाई एजेन्डाबाट हटाउने निर्णय गरेको छ। बैठकपछिको पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको व्यक्तित्व र राष्ट्रिय राजनीतिमा पुर्याएको योगदानलाई विवादमा नतान्न आग्रह गर्नुभयो। पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रीय कमिटीको अधिकारक्षेत्रभित्र पर्छ। सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएको छैन, र यो विषय महाधिवेशनको एजेन्डासँग सम्बन्धित छैन, उहाँले भन्नुभयो। यसबारे थप छलफल आवश्यक भए केन्द्रीय सचिवालय वा केन्द्रीय कमिटीमै हुन्छ। उहाँले थप्नुभयो, उहाँले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान दिनुभएको छ। त्यसलाई सडकस्तरको विवादमा बदल्नु पार्टी र राष्ट्रको हितमा हुँदैन।
महाधिवेशनको मुख्य एजेन्डा
उपमहासचिव ज्ञवालीका अनुसार, महाधिवेशनमा तीनवटा मुख्य दस्तावेजमाथि छलफल हुनेछ। ती हुन्– पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्ताव। यस्तै, चारवटा आयोग र केन्द्रीय निकायका प्रतिवेदनमाथि पनि छलफल हुने उहाँले बताउनुभयो। स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गर्नुभएको फरक मत पनि महाधिवेशनमा छलफलका लागि पेस हुनेछ। कर्ण थापाले आफ्नो फरक मतमा के समेट्नुहुन्छ, त्यसका आधारमा छलफल हुने वा नहुने निर्क्योल हुन्छ, ज्ञवालीले भन्नुभयो। तर, हामी चाहन्छौं कि सम्माननीय पूर्वराष्ट्रपतिको व्यक्तित्व र योगदानलाई पक्ष–विपक्षको विषय नबनाइयोस्।