Artharajniti ~ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले भेटवार्ता गरेका छन् । भण्डारी निवास भंगालमा उनीहरूबिच भेटवार्ता भएको हो । ‘आज बिहान उहाँको निवासमा १० बजेदेखि साढे ११ बजेसम्म लगभग डेढ घण्टा छलफल भयो’, भेटपछि प्रवक्ता झाले भने, ‘एउटा राजनीतिक शिष्टाचार भेटघाट थियो कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट हो ।’ भेटवार्ताका क्रममा वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा भण्डारीले चिन्ता र चासो व्यक्त गरेको बताए । ‘उहाँले राजनीतिक अवस्थाका बारेमा सरोकार राख्नुभयो र यसको समाधानको आवश्यक पहलबारे छलफल भयो’, झाको भनाइ छ । त्यसक्रममा सहकारीको विषय समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएकोमा भण्डारीले सरोकार राखेको झाले जानकारी दिए । ‘उहाँले सहकारीबारे सरोकार राख्नुभयो र रवि लामिछानेपप्रति सद्भाव छ भन्नुभयो र नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो हो र त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेकाले नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार छु ।’ झाले भण्डारीको भनाई उद्धृत गर्दै भने ।
रवि लामिछानेप्रति पूर्वराष्ट्रपति भण्डारीको सद्भाव
