Artharajniti ~ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन्। इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै शाहीले परराष्ट्रमन्त्री आरजु राणाको देउवाको राजीनामा माग गरेका हुन्। शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आरजु राणालाई ट्याग गर्दै परराष्ट्र मन्त्रालयका परराष्ट्र मन्त्रालयको भूमिकामाथि प्रश्न उठाउदै कूटनीतिक ज्ञानको अभाव रहेको र दुःखमा परेका नागरिकलाई सहयोग गर्न नसकेको आरोप लगाएका छन्। शाहिले लेखेका छन्– ‘इजरायल-हमास द्वन्द्वका क्रममा हमासको कब्जामा पर्नुभएका नेपाली नागरिक विपिनको न्याय र सकुशल रिहाइका लागि उहाँकी आमा र बहिनीले इजरायलमा गएर गरिरहनुभएको हारगुहार तथा उहाँहरूको कारुणिक अवस्थाले मर्माहत भएको छु आफ्नो छोरा तथा दाजुभाइको जीवनरक्षाका लागि उहाँहरूले गरिरहनुभएको संघर्ष र बगाइरहेको आँसुले मेरो मन छियाछिया भएको छ।
यस्तो संवेदनशील घडीमा नेपाल सरकार, विशेषगरी परराष्ट्र मन्त्रालयको भूमिकालाई लिएर गम्भीर प्रश्न उठेको छ। पीडित परिवार न्यायको खोजीमा भौँतारिरहेका बेला परराष्ट्र मन्त्रालयले यस विषयमा पर्याप्त र प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको गुनासो जनस्तरबाट आइरहेको छ। जनताको रगत-पसिनाबाट आर्जेको करबाट तलब-भत्ता बुझ्ने मन्त्रालयका कर्मचारी तथा पदाधिकारीहरू यस्तो मानवीय संकटमा समेत निष्क्रिय रहनु अत्यन्त दुःखद र खेदजनक छ। नेपाली नागरिक विदेशमा समस्यामा पर्दा उनीहरूको सुरक्षा र न्याय सुनिश्चित गर्नु राज्यको, विशेषगरी परराष्ट्र मन्त्रालयको प्राथमिक दायित्व हो। यदि मन्त्रालयले यस्ता कूटनीतिक कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न सक्दैन भने परराष्ट्र मन्त्री तथा कर्मचारीहरूले आफ्नो पदमा बसिरहनुको कुनै औचित्य देखिँदैन।