Artharajniti ~ संसदीय दलको नेतामा पराजित भए पनि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारको नेतृत्व नछाड्ने अडान लिएपछि नयाँ सरकार गठन प्रक्रिया अन्योल बनेको छ । कांग्रेसका प्रदेश सभापतिसमेत रहेका इन्द्र बानियाँले संसदीय दलमा लामाविरुद्ध अविश्वास प्रस्ताव ल्याएर सरकार परिवर्तनको अभ्यास थालेका थिए । अविश्वास प्रस्ताव पारित भएसँगै संसदीय दलको नेताका लागि निर्वाचन भयो, जसमा बानियाँ निर्वाचित भए । यद्यपि मुख्यमन्त्री लामाले संसदीय दलको नेता नहरे पनि मुख्यमन्त्री हुनबाट आफूलाई संविधानले नरोक्ने जिकिर गर्दै राजीनामा दिन चाहेका छैनन् । संविधानको धारा १६८(२) मा प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसदलाई मुख्यमन्त्री बनाउने प्रावधान छ । सोही कारण मुख्यमन्त्री लामाले संसदीय दलको नेता पद गुमाए पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने आवश्यकता नरहेको दाबी गर्दै आएका छन् । सत्ता साझेदार दल नेकपा एमाले भने कांग्रेसको संस्थागत निर्णयका आधारमा भूमिका निर्धारण गर्ने पक्षमा छ । एमालेले बुधबार नै कांग्रेसको संस्थागत निर्णयलाई मान्ने निर्णय संसदीय दलको बैठकबाट गरिसकेको छ । मुख्यमन्त्री लामालाई मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । सभापति देउवाले बिहीबार मुख्यमन्त्री लामालाई काठमाडौँ बोलाएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको उनीसँगै बुढानीलकण्ठ पुगेका एक सांसदले बताए ।
लामाको अडानले बागमतीमा नयाँ सरकार गठन गर्न समस्या
