केपीको प्रस्ताव : देउवाले मानेनन् मन्त्री फेर्न, भने, ‘पछि मिलाउँछु’

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसले संघ सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरू तत्कालका लागि परिवर्तन नगर्ने भएको छ । सरकार गठनको एक वर्ष र कही मन्त्रीहरू ‘घुस डिल’ को काण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग केही मन्त्रीहरू परिवर्तनको प्रस्ताव राखेका थिए । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो । तर ओलीको प्रस्तावप्रति देउवाले असहमति जनाएका हुन् । उनले आफू प्रधानमन्त्री बन्ने वेलामा मात्रै मन्त्री परिवर्तन गर्ने बताएका थिए । सभापति देउवाले कतिवेला मन्त्रीहरू परिवर्तन गर्छन् र आफ्नो पालो आउला भनी बसेका कांग्रेस सांसदहरूलाई पनि आफू प्रधानमन्त्री हुने वेलामा मात्रै मन्त्री परिवर्तन हुने बताउन थालेका छन् । यता देउवालाई मंगलबार भेट्न पुगेका कांग्रेसका पाँच पूर्वपदाधिकारीले पनि पार्टीका तर्फबाट मन्त्री बनेकाहरूको कार्यसम्पादन मूल्यांकन गर्दै राम्रो काम गर्न नसक्नेलाई फिर्ता बोलाउन सुझाएका थिए । यसरी सुझाव दिनेहरूमा पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत थिए ।

भेटपछि पूर्वउपसभापति श्रेष्ठले भनेका थिए, ‘कांग्रेस ओलीजी नेतृत्वको सरकारमा सहभागी भएको एक वर्ष पुगेको छ । समग्रमा सरकारले नै राम्रो काम गर्न सकेको छैन । कांग्रेसका मन्त्रीहरूले पनि राम्रो काम नगरेका गुनासोहरू आएका छन् । तपाईंले कार्यसम्पादन मूल्यांकन गर्नुस् । राम्रो काम गर्नेलाई राख्नुस् । नराम्रो काम गर्नेलाई ‘विथ ड्र’ गर्नुस् भनेर हामीले सभापतिलाई सुझाव दिएका छौँ ।’ उक्त सुझावप्रति देउवाले के जवाफ दिए भन्नेबारे श्रेष्ठले खुलाएनन् । निकटस्थ स्रोतका अनुसार पनि देउवा तत्काल मन्त्री फेरबदलको योजना छैनन् । पाँच नेताले मात्र होइन, गत असार १६ गतेदेखि २३ गतेसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि राम्रो काम गर्न नसक्ने मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने केही नेताले भनेका थिए । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत पर्फमेन्स देखाउन नसक्ने मन्त्रीलाई फिर्ता बोलाएर योग्यलाई पठाउन सुझाव दिएका थिए । आकांक्षी धेरै भएकाले मन्त्री परिवर्तन गर्दा विवाद निम्तिने र गुट मिलाउन गाह्रो हुने बुझेकाले देउवा अनिच्छुक देखिएका एक नेता बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्