Artharajniti ~ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार पुगेकी थिइन् । राजनीतिक प्रयोजनका निम्ति आइतबार पहिलोपटक च्यासल पुगेकी हुन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी थिइन् । राष्ट्रिय राजनीतिमै चासोका साथ हेरिएको यो भेटवार्ता पौने दुई घण्टा चल्यो । भेटवार्तापछि ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतसँग सामूहिक तस्वीर लिइयो । नेताहरूसँग सामूहिक र ओली–भण्डारीको तस्वीर राखेर कतिपय एमाले नेताहरूले ‘एकताको सन्देश’ भनिरहेका छन् । तर उच्च स्रोतका अनुसार हाँस्दै बाहिरिएका ओली र भण्डारीबीचको सम्वाद सार्वजनिक टिप्पणी जस्तो थिएन । बरु एकले अर्कालाई गलाउने, र अप्ठ्यारो पार्नेगरी चलेको थियो । ओली आफू निकट नेताहरूले भण्डारीको सदस्यता नवीकरण होल्डमा राखिएको सार्वजनिक अभिव्यक्ति दिएकोमा सम्वाद केन्द्रीत थियो । स्रोतका अनुसार ओलीले भने सदस्यता नवीकरणको विषयमा समस्या नै नरहेको बताएका थिए । ‘तपाईंको सदस्यतामा समस्या होइन, त्यो प्राविधिक कुरा हो, भइहाल्छ,’ ओलीले भनेका थिए, ‘मैले राजनीतिक कुरा गर्न खोजेको हो ।’ ओलीले राजनीतिक विषय भनेर पूर्वराष्ट्रपतिको प्रसंग उठाएका थिए ।‘पूर्वराष्ट्रपतिले राजनीतिमा आउँदा राम्रो सन्देश जाँदैन । तपाईं नआउनुस्’, ओलीको आग्रह थियो, ‘सम्मान लिएर बस्दा नै ठीक हुन्छ ।’जवाफमा पूर्वराष्ट्रपति भण्डारीले भने धेरै अगाडि बढिसकेको बताइन् । ‘सदस्यता नवीकरण यसपटकको कुरा होइन । पोहोरै भइसकेको हो । तपाईसँग धेरैचोटी कुरा पनि भएकै हो’, पूर्वराष्ट्रपति भण्डारीले भनेकी थिइन् । तर, अहिले सदस्यता नवीकरणको कुरा उठाएर मुद्दा विषयान्तर गरिनु ठीक नहुने पनि भण्डारीले बताएकी थिइन् । अगाडि बढेर भण्डारीले अब च्यासलमा आफू नियमित आउने पनि जानकारी दिएकी थिइन् । च्यासल नियमित आउने सन्दर्भमा भने ओलीले स्वागत गरिने बताएका थिए ।
विद्या भण्डारीसँग ओली : ” सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो “
