केपी ओली र ईश्वर पोखरेलबीच नोकझोंक : ईश्वर :- “अब तपाईंले छोड्नुस् “

Machchapuchchre Bank

Artharajniti  ~  विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १० घन्टा बढी जारी रह्यो ।बिहीबार दिउँसो पौने २ बजेबाट सुरु भएको बैठक मध्यरात सकिएको थियो । बैठकमा पार्टी विधानको प्रस्तावमाथि लामो छलफल चल्यो ।उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको मस्यौदामाथि नेताहरूले आफ्ना कुरा राखेका थिए । पौडेलले ल्याएको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पद हटाउने, पदाधिकारी र केन्द्रीय कमिटीको आकार घटाउने लगायत थियो ।उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार १५ जनाको पदाधिकारी नै स्थायी कमिटी सदस्य हुने प्रस्ताव पनि पारित भएको छ । केन्द्रीय कमिटीको आकार २५१ सदस्यीय हुनेछ । सदस्यता दुई खाले हुने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।तर धेरैले चासोका साथ हेरेको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रस्तावमा भने धेरै लामो छलफल चलेको छ ।

प्रथम विधान महाधिवेशनले गरेको निर्णय र दशौं राष्ट्रिय महाविधेशनको परिस्थितिबारे बोल्दै जाँदा वरिष्ठ उपाध्यक्ष पोखरेलले तीनपटक विधान छापिएको प्रसंग उठाएका हुन् । पोखरेल बोल्दै गर्दा ओलीले आपत्ति जनाए । ओलीले भने- ‘तपाई कर्ण थापाको कुरा बोकेर आउने हो ?’ स्रोतका अनुसार ओलीले कर्ण थापाको कुरा बोकेर नआउन भनेपछि ईश्वर पोखरेल झोक्किएका थिए । ‘म आफ्नो कुरा राखिरहेको छु, कर्ण थापासँग मलाई किन जोड्नुहुन्छ ?,’ पोखरेलले उल्टै प्रश्न गरेका थिए । यसपछि भने ओली बोलेनन् । पोखरेलले आफ्ना कुरा राख्न थाले । बोल्ने क्रममा पोखरेलले ओलीलाई नेतृत्व नै छोड्न सुझाव दिएका छन् । ‘तपाईं र म बीचमा कुनै आइडोलोजीको समस्या होइन, छैन, तर तपाईंको शैलीमा समस्या भयो’ पोखरेलले भने, ‘कार्यकर्ता र जनतासँग गर्ने शैली ठीक भएन, पार्टीभित्र मूल्याङ्कन गर्ने विधि भएन, त्यसैले अब तपाईंले छोड्नुस् (नेतृत्व) ।’ पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन पनि ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गरेका थिए । ‘आत्मालोचना भन्ने चिज छैन, विचारको विमर्शलाई झगडा भन्नुहुन्छ,’ ओलीसँग नेतृत्व छोड्नुको विकल्प नरहेको तर्क पोखरेलले गरेका थिए ।तर यो सबै सुनिरहेका प्रधानमन्त्री समेत रहेका ओलीले भने नेतृत्व छोड्ने अवस्था नरहेको जवाफ फर्काएका थिए । ‘ईश्वर कमरेडले शान्त शैलीमै नेतृत्व छोड्नुस् भन्नुभयो, यो सबै सुनिरहनुभएका अध्यक्ष कमरेडले मिल्दैन भन्नुभयो’, स्रोतले भन्यो ।पार्टीमा अझै आफ्नो आवश्यकता रहेकाले छोड्न नमिल्ने ओलीको तर्क थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्