Artharajniti ~ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् । बुधबार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न सरसफाई अभियान सुरु गर्न आग्रह गरे । साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको सङ्क्रमण उच्च हुने भन्दै यी ४ महिनामा कुनैपनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरु जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरु पुर्न र फालिएका टायरहरू व्यवस्थापन गर्न आग्रह गरे । सरकारी कार्यालयहरू जोगाउन सके दर्जनौँ मानिसहरूलाई डेंगुबाट जोगाउन सकिने बताए । डेंगुबारे सचेतना अभियान फैलाउनसके डेंगी फैलिनबाट रोक्न सकिने बताए । मन्त्री पौडेलले डेंगुबाट जोगिन आफू बसेको ठाउँलाई लार्भारहित बनाउन आग्रह गरे । आफूले आफूलाई सुरक्षा गर्नसके मात्रै अरुलाई सहयोग गर्न सकिने बताए । उनले सरकारी कार्यालयहरू सबै लार्भा नष्ट अभियानमा सक्रिय हुनुपर्ने बताए । हरेक शुक्रवार (साउन, भदौ, असोज र कार्तिक महिना) प्रभावकारी रूपमा सरसफाइमा लाग्न आग्रह गरे ।
“सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउँ ” : स्वास्थ्यमन्त्री पौडेल
