Artharajniti ~ पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाएका छन् । उनको जन्मोत्सवका अवसरमा शुभकामना दिनका लागि निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । जसअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला गरिएको हो ।
शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्। आफ्नो ७९ औं जन्मदिनका अवसरमा निर्मल निवासमा आयोजित कार्यक्रममा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले यस्तो बताएका हुन्। उनले नेपालमा जन्मिएर मात्र नेपाली नहुने पनि बताए। ‘यो समय नेपाल र नेपालीको लागि प्रार्थना गर्ने समय हो।’ उनले भने, ‘हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन हामी भित्र नेपाल हुनुपर्छ अनि मात्र नेपाली हुन्छौं।’ उनले अहिले वर्षाको समय भएकाले बाढी, पहिरो र डुबानका साथै पानीजन्य विमारी पनि हुने भएकाले सबैलाई शतर्क भएर बस्न पनि आग्रह गरे।