Artharajniti ~ प्रमुख राजनीतिक दलबीच सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश्न र विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरे निवासमा आज प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीच भएको छलफलबाट सात सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । समितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई/दुई तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक/एक जना सांसद रहनेछन् । समितिलाई गठन भएको २१ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश हुनेछ । यही असार २३ गते कार्यव्यवस्था परामर्श समितिबाट समितिमा रहने सांसदको नाम टुङ्ग्याएर प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
‘कुलिङ पिरियड’सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति गठन
