“मेराविरुद्ध भण्डारीको नियोजित चर्चा चलाइएको छ ” : प्रधानमन्त्री ओली

Machchapuchchre Bank

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उछालेर नेकपा एमालेभित्र विवाद सिर्जना गर्ने नियोजित प्रयास भइरहेको आरोप लगाएका छन् । उनले यस्ता गतिविधिबाट पार्टीभित्र गलत सन्देश दिन खोजिएको बताए । स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिहीबार साँझ म्याड्रिडस्थित नेपाली राजदूत निवासमा युरोपस्थित नेपाली समुदायका प्रतिनिधिसँगको छलफलमा भने, ‘पछिल्लो समय मेराविरुद्ध विद्या भण्डारी–विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ । उहाँले आफैं केही भन्नुभएको छैन, अरूले उहाँको नाम अगाडि सारेका छन् ।’ उनले नेकपा एमाले परिपक्व र जिम्मेवार पार्टी भएको उल्लेख गर्दै आन्तरिक विषयहरू समाधान गर्न पार्टी सक्षम रहेको दाबी गरे । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसभित्र पनि विवादहरू रहेको जनाउँदै ती विषयको पनि समाधान आवश्यक रहेको धारणा राखे । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत केही समूहले निराशा र भ्रम फैलाउने काम गरिरहेको बताए । उनले विदेशमा रहेका नेपालीहरूलाई यस्ता भ्रामक प्रचारबाट प्रभावित नहुन आग्रह गर्दै भने, ‘देशमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ । तपाईंहरू विदेशमा भए पनि मातृभूमिको समृद्धिमा जोडिनु पर्छ ।’ उनले पछिल्लो समय आफूलाई ‘नयाँ शक्ति’ भनेर चिनाउने केही समूहले सहकारीलगायत माध्यमबाट आर्थिक अनियमितता गरिसकेको आरोपसमेत लगाए ।

प्रधानमन्त्री ओलीले नेपालमा राम्रो कामलाई रोक्ने प्रवृत्ति मौलाउँदै गएको पनि बताए । उनले सर्वोच्च अदालतले ५२ संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति सदर गर्ने निर्णयसँग जोड्दै देशमा विकासका प्रयासहरूविरुद्ध निरन्तर अवरोध सिर्जना गरिएको बताए । प्रधानमन्त्रीले विकास निर्माणका काममा समेत मुद्दा हाल्ने प्रवृत्तिले योजना ठप्प हुने स्थिति बनाएको बताए । ‘बाटो बनाउने काममा मुद्दा दर्ता भइहाल्छ,’ उनले भने, ‘यदि केही गल्ती भएको छ भने काम रोक्न आदेश आउँछ । तर फैसला आउन २–३ वर्ष लाग्छ । त्यो बेलासम्म न त मेसिन रहन्छ, न कामदार। यसले स्रोतको दुरुपयोग मात्रै होइन, कार्यान्वयन प्रक्रिया नै ठप्प बनाउँछ ।’ उनले कानुनी प्रक्रिया आवश्यक भए पनि त्यसलाई ‘काम रोक्ने हतियार’को रूपमा प्रयोग नगर्न आग्रह गरे । उनले युरोपमा रहेका नेपालीहरूको सक्रियता, योगदान र मातृभूमिप्रतिको सम्बन्धलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्केर आफ्नो सीप, श्रम र पुँजी देशको विकासमा लगाउन आग्रह गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्