रास्वपा र राप्रपाको अवरोधका बाबजुत प्रतिनिधिसभा बैठक शुरु
अर्थ राजनीतिप्रकाशित मिति :
Artharajniti ~ आज पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बाबजुत सभामुख देवराज घिमिरेले बैठकको कारबाही अघि बढाएका हुन् ।विरोधका बीच सभामुख घिमिरेले संसद बैठक संचालन गरेपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको भन्दै उनले राजीनामा दिनुपर्ने माग राखेर रास्वपा र राप्रपाले संसदमा अवरोध गरेका हुन् । तर सभामुखले त्यसलाई बेवास्ता गर्दै बजेटमाथिको छलफल अघि बढाएपछि रास्वपा सांसदहरु वेल अगाडि आएर नाराबाजी गरेका हुन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिएका थिए । लिङ्देनले जबर्जस्ती बैठक सन्चालन नगर्न सभामुखलाई आग्रह गरेका थिए । यदि बैठक सन्चालन गरे बहिस्कार गर्ने र बहिस्कार गरेको दिन बैठक भत्ता नलिने जानकारी पनि उनले गराए । लिङ्देनपछि सभामुख घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए । परियारले पनि बैठक जबर्जस्ती सन्चालन नगर्न माग गरे । तर सभामुख रोकिएनन् ।