Artharajniti ~ अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा कर्फ्यू आदेश जारी गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीतिविरूद्धको प्रदर्शन उग्र बन्दै गएपछि लस एन्जलसको डाउनटाउन क्षेत्रमा कर्फ्यु आदेश जारी भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ। प्रदर्शनकारीहरूले लस एन्जलसको आप्रवासन तथा भन्सार सेवा (आइसिई) र मेट्रोपोलिटन डिटेन्सन सेन्टर आसपास प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले गाडी जलाउनेदेखि सडकमा ढुंगामुढा गरेपछि त्यस क्षेत्र आसपास तोकेर मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म प्रशासनले कर्फ्यू आदेश जारी गरेको रोयटर्सले जनाएको छ। मंगलबार मात्रै २०० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ परेका छन्। प्रदर्शन उग्र बनेपछि लस एन्जलसमा सुरूवातमा ट्रम्प प्रशासनले नेशनल गार्ड र पछि सेना परिचालन गरेका थिए। मंगलबारदेखि भने नौसेना पनि परिचालन गरिएको रोयटर्सले जनाएको छ।
आप्रवासी पक्रन ट्रम्प सरकारले कार्यस्थलहरूमा छापा मारेपछि डेमोक्र्याटिक पार्टीको सरकार रहेको क्यालिफोर्नियाको मुख्य सहर लस एन्जलस लगायत ठाउँमा शुक्रबार र शनिबार सो कदमको विरोधमा जनप्रदर्शन भएको थियो।जनताले सडकमा उत्रेर ट्रम्प सरकारको आप्रवासी विरोधी नीतिको पालनामा अवरोध गरेपछि शनिबार उनले नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका थिए। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमसँग सल्लाह नगरिकनै ट्रम्पले सो राज्यमा नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका थिए। ट्रम्पले त्यसपछि सेना परिचालन गर्ने कदम पनि चालेका छन्। डेमोक्र्याटिक पार्टीबाट निर्वाचित न्यूसमले आफूसँग सहमति नगरी नेसनल गार्ड परिचालन गरेको भनेर ट्रम्पको कदम विरूद्ध सान फ्रान्सिस्कोमा रहेको संघीय अदालतमा मुद्दा हालेका छन्। अर्को तर्फ ट्रम्पले भने उनको काममा अवरोध गर्ने क्यालिफोर्नियाका गभर्नर न्यूसमलाई गिरफ्तार गर्नुपर्ने बताएका छन्।ट्रम्पले नियुक्त गरेका सीमा मामिलाका प्रमुख टम होमनले कानुन पालना गर्ने काममा बाधा गरे डेमोक्र्याटिक पार्टीबाट निर्वाचित अधिकारीहरूलाई गिरफ्तार गर्ने बताएका थिए। आप्रवासीको मुद्दा उठाएर राष्ट्रपतीय निर्वाचन जितेका ट्रम्प आप्रवासीलाई जसरी पनि देश निकाला गर्न आफूले जनादेश पाएको ठान्छन्। उसै पनि नियम-कानून त्यति नमान्ने ट्रम्प त्यसका लागि जे गर्न पनि तयार देखिन्छन्।