जेठ १५ गते काठमाडौँमा एमालेको शक्ति प्रदर्शन

Machchapuchchre Bank

Artharajniti  ~  नेकपा एमालेले जेठ १५ गते आयोजना गरेको देशव्यापी जनप्रदर्शनलाई सफल पार्न नेताहरूको जिम्मेवारी तोकेको छ । यद्यपि एमालेले काठमाडौँलाई बढी प्राथमिकता दिएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको तयारी बैठकमा प्रदर्शनलाई सफल बनाउन नेताहरूको जिम्मेवारी बाँडफाँडबारे जानकारी गराइएको छ । जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरुको बैठकमा महासचिव शंकर पोखरेलले नेताहरूको जिम्मेवारी बाँडफाँडको जानकारी गराएका हुन् । महासचिव पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रमहरू चिर्नका जनप्रदर्शनको तयारी गरिएको हो । पोखरेलका अनुसार काठमाडौँ जिल्लाबाट व्यापक मात्रामा जनमानस परिचालन गर्न लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । जनसंगठनहरुको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ  । विष्टलाई सबै जनसंगठनका इन्चार्जहरूले सघाउनेछन् । एमालेमा ठुलो जनधार भएको संगठनको रूपमा रहेको सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोल अनुसार फरक फरक नेताहरूलाई दिइएको छ । उपत्यकाका जनप्रदर्शनमा ठुलो सङ्ख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न  उपाध्यक्षहरू क्रमशः  अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ  । उपत्यका बाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ । स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ  । उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई दिइएको छ  । सबै विभागको  संयोजनको जिम्मेवारी  सचिव छविलाल विश्वकर्माले पाएका छन् । गणतन्त्र दिवसका दिन ज्येष्ठ १५ गते बिहान ११ बजे भृकुटी मण्डपमा एमालेका नेता कार्यकर्ता झाँकी र जुलुस र आफ्नो पार्टी, जनसंगठनको पहिचान सहित उपस्थित हुन पनि आजको भेलाले निर्देशन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्