Artharajniti ~ शिक्षकहरुको आन्दोलन आज २७औं दिन पनि जारी रहने भएको छ । आइतबार नयाँ बानेश्वरमा शिक्षकहरू र प्रहरीबीच झडप भएको थियो, जसमा दर्जनौं शिक्षकहरू घाइते भएको र केहीलाई अस्पताल भर्ना गर्नुपरेको थियाे । तीमध्ये एक शिक्षकको अवस्था गम्भीर रहेको बताइएको छ। नेपाल शिक्षक महासंघले प्रहरीको यो कार्यको कडा निन्दा गरेको छ र शान्तिपूर्ण रूपमा आफ्ना अधिकारको माग गरिरहेका शिक्षकहरूमाथि अत्यधिक बल प्रयोग गरिएको बताएको छ। आन्दोलनमा घाइतेहरूको जिम्मेवारी सरकारले लिनुपर्ने र राम्रो काम गर्ने वातावरण र व्यावसायिक विकासका अवसरहरू सुनिश्चित गर्ने गरी विद्यालय शिक्षा ऐन संशोधन गर्न महासंघले माग गरेको छ। शिक्षक महासंघले आइतबार सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुङ्गामुढा गरी स्थिति भड्काएको आरोप लगाएको छ। ‘यही २०८२ बैशाख १४ गते नेपाल शिक्षक महासङ्घद्वारा गरिएको शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुङ्गामुढा गरी स्थिति भड्काउ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक-कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको छ।’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘हामी सरकारबाट भएको यो ज्यादतीको घोर निन्दा तथा भर्त्सना गर्दछौं। बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक – कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन्। तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक रहेको छ। हामी सबै घाइते साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौं।’ साथै महासंघले शिक्षक-कर्मचारीमाथि गरिएको यो अमानवीय आक्रमणबाट सरकारको दमनकारी तथा शिक्षा विरोधी चरित्र फर्दाफास भएको पनि आराेप लगाएकाे छ ।विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । उनीहरु ऐन जारी नभएसम्म सडक नछाड्ने अडानमा छन् ।