Artharajniti ~ एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । सोही बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरिरहेका घिमिरे बढुवा भई सीईओको जिम्मेवारीमा पुगेका हुन् । नवनियुक्त सीईओ घिमिरेले बुधबारदेखि नै औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन् । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ वर्षदेखि एनएमबी बैंकसँग आबद्ध छन् । बैंकका विभिन्न विभाग तथा शाखाहरूसमेतको नेतृत्व गरेर काम गरिसेकका उनले बैंकको सेवा विस्तार र सुधारमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेका छन् । बैंकका व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा घिमिरेको विशेष योगदान रहँदै आएको छ । उनले एनएमबी बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउँदै आएका छन् । उनको बैंकिङ अनुभवले एनएमबी बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत घिमिरेले आफ्नो कार्यभार सम्हाल्दै भने, ‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौँ ।’
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे
