Artharajniti ~ नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका सांसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार नियुक्त गरेका हुन् । समग्र शिक्षा सुधारसहित शिक्षकहरूले आन्दोलन चर्किरहेका वेला विद्या भट्टराईले शिक्षामन्त्रीबाट अचानक राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले उनको ठाउँमा पन्तलाई मन्त्रीको जिम्मेवारी दिए । पन्तले बिहीबार शपथ ग्रहणपछि कार्यभार सम्हाल्नेछन् । पन्त २०७९ को निर्वाचनमा एमालेका तर्फबाट समानुपातिकतर्फ सांसद निर्वाचित भएका हुन् । यसअघि २०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रममन्त्री बनेको उनीसँग अनुभव छ । योसँगै पन्त दोस्रो पटक मन्त्रीको भूमिकामा सिंहदरबार प्रवेश गर्दैछन् । २०५१ सालमा नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी बन्दा पन्तले अधिकारीको प्रेस सल्लाहकार रहेर काम गरेका थिए । पहिलो पटक माधव नेपाल प्रधानमन्त्री हुँदा समेत पन्तले प्रमुख राजनीतिक सल्लाहकार भएर जिम्मेवारी निर्वाह गरेका थिए । एमालेको नेपालगञ्ज महाधिवेशन (२०५४) बाट पार्टी केन्द्रीय सदस्य बनेका पन्त प्रखर वक्ताका रूपमा समेत चिनिन्छन् । २०५६ सालको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनी २०६१ सालमा श्रम तथा यातायात मन्त्री र २०६३ को पुनर्स्थापित संसद्को सदस्य बनेका थिए ।
पन्त यस्तो अवस्थामा शिक्षा मन्त्री बन्न पुगेका छन् कि; उनका सामु देशभरका शिक्षकहरूका समस्या सम्बोधन गर्नुपर्ने प्रमुख चुनौती छ । संसद्मा प्रतिपक्ष बेन्चमा हुँदा होस् वा सत्तापक्षमा हुँदा नै किन नहोस् पार्टीको आवाजलाई सशक्त उठाउने पन्त आगामी दिनमा शिक्षकहरूका समस्या सम्बोधनमा कति सफल हुन्छन् त्यसले उनको बाँकी राजनीतिलाई समेत दिशानिर्देश गर्ने एमाले नेताहरू नै बताउँछन् । लामो समय एमालेमा केपी ओलीको कडा आलोचना गर्दै पार्टीभित्रको विपक्षी खेमामा रहेका पन्त नेकपा विभाजनपछि समेत एमाले भित्रका १० भाइ समूहका एक सदस्यका रूपमा परिचित रहे । तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षमा माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पक्षमा उभिएका पन्त नेकपा विभाजन भएर माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किएपछि पनि उनी केही समय नेपाल खेमामा उभिएका थिए । पार्टी विभाजन गर्नुहुँदैन भनेर १० बुँदे सहमति गर्नेमध्ये पन्त काठमाडौँ विजेश्वरीका स्थायी बासिन्दा हुन् ।