Artharajniti ~ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य रहेको बताएका छन्। सोमवार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। उनले राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार्य रहेको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने उल्लेख गरे।आइतवार पोखराको एक हप्ताको बसाईपछि काठमाडौँ फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राप्रपासहित समर्थकहरूको उल्लेख्य उपस्थिति थियो। पूर्वराजा शाहको स्वागतमा जम्मा भएको भीडपछि सोही विषयमा छलफल गर्न माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका राजनीतिक दलका पदाधिकारी र सचिवालय बैठकसमेत बसेको छ। सोही विषयलाई लिएर सिंहदरबारमा पनि दुई नेताबीच आज छलफल भएको हो। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले जनतालाई प्रगति र परिवर्तन चाहिएको राजाबाट सम्भव नरहेको बताए।