पूर्व राजालाई ओली, देउवा र प्रचण्डको चुनौती : ” मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ला “

Machchapuchchre Bank

Artharajniti   ~  प्रमुख तीन दलका शीर्ष नेताले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुको राजतन्त्र फर्काउने सपना नदेख्न चेतावनी दिएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति  शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकैदिन पूर्व राजा शाह र उनका समर्थकहरुलाई राजतन्त्र फर्कने सपना नदेख्न चेतावनी दिएका हुन् । संयोग नै मान्नुपर्छ ओली, देउवा र प्रचण्ड बिहीबार मधेस प्रदेशको एक जिल्ला महोत्तरी पुगेर पूर्व राजा र उनी पक्षधरलाई यस्तो चेतावनी दिएका हुन् । तीनै जना नेता छुट्टाछुट्टै कार्यक्रमका लागि बिहीबार महोत्तरी पुगेका थिए ।  प्रधानमन्त्री ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले अलिकति टाउको निकालेजसो गर्ने र अप्ठ्यारो परे फुत्त तानेर लुकाउने गर्ने गरेको भन्दै राजनीति गर्न मन भए पार्टी खोलेर चुनाव लड्न चेतावनी दिए । ‘लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुस्, तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि । चुनाव लड्नुस्, पार्टी खोल्नुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस्’, प्रधानमन्त्री ओलीले देशमा सामन्ती राजतन्त्र, कोही जन्मिँदै राजा हुने र कोही जुनसुकै क्षमता भए पनि रैती भएर बस्नुपर्ने प्रणाली अब नेपालमा नहुने बताए ।  नेपाली जनताले फालेको राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको भन्दै प्रधानमन्त्रीले मानिसहरू कुर्सीमा बस्दा राजा हुने दिन गएको दाबी गरे ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रमा राजाको कुनै स्थान नरहेको बताएका छन् । महोत्तरीको बर्दिबासमा कार्यकर्ता भेटघाटका क्रममा देउवाले पूर्वराजा शाह स्वयं कारक भएर गणतन्त्र आएको र अब उनको कुनै स्थान नरहेको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहले पहिला पनि मूर्खता गरेको र अब फेरि त्यस्तो मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । साथै उनले शाहलाई  नागरिकको रूपमा पार्टी खोलेर चुनाव लड्न सुझाव दिए । त्यस्तै उनले नेपाली जनताको बलबाट गलहत्त्याइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने बताए ।  कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास पनि जनताले नै गर्ने  प्रचण्डको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्