आईजीपी बसन्त कुँवरले चैत ५ मा अवकाश पाउने, प्रतिस्पर्धामा ३ एआईजी

Machchapuchchre Bank

Artharajniti   ~  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैत ५ मा अवकाश पाउँदै छन् । २०७९ चैत १० मा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका उनी ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् । करिब दुई वर्षसम्म ८९ हजार फौजको कमाण्ड गरेर उनी बिदा हुन लागेका हुन् । कुँवरको अवकाश मिति नजिकिएसँगै नेपाल प्रहरीको ३१ औँ आईजीपी को हुन्छ भन्नेबारे आम चासो छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले कुँवरलाई वरीयताको आधारमा आईजीपी नियुक्त गरेको थियो । कुँवर वरीयता सूचीको १ नम्बरमा थिए । कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएका टेकप्रसाद राई पनि अवकाशमा जाँदै छन् । प्रहरीको ३१ औँ आईजीपी बन्न तीन जना अतिरिक्त महानिरीक्षक प्रतिस्पर्धामा छन् । प्रहरी अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ आईजीपीका लागि प्रतिस्पर्धी हुन् । थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।

आईजीपी हुन तीनै जना दौडधुपमा लागेका छन् । भक्तपुरका स्थानीय दीपक थापाको उच्च तहका राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध छ । वरीयतामा पहिलो नम्बर र नेतृत्वसँगको सम्बन्धका कारण उनी आईजीपी हुने सम्भावना रहेको धेरैको आकलन छ । प्रतिस्पर्धामा रहेका सुदिप गिरी पूर्वप्रधानन्यायाधीशका छोरा हुन् । उनी नेपाली कांग्रेस निकट भनेर चिनिन्छन् । उनलाई आईजीपी बनाउन कांग्रेस नेताद्वय पूर्ण बहादुर खड्का र बालकृष्ण खाँणले लबिङ गरेको चर्चा छ । अर्का प्रतिस्पर्धी टेक बहादुर तामाङले पनि झापाका नेताहरूमार्फत लबिङ गरिरहेका छन् । झापाको दमक ससुराली भएका उनी पूर्वडीआईजी देवीलाल तामाङका ज्वाइँ हुन् । अख्तियार प्रमुख प्रेम कुमार राईसँग निकट सम्बन्ध रहेका तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कन्भिन्स’ गर्ने प्रयासमा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्