Artharajniti ~ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उठ्ने संकेत गरेका छन्। सुर्खेतमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति पदमा उठेकोले अब त्यसभन्दा तल उठ्ने कुरा नहुने उल्लेख गर्दै १५ औं महाधिवेशनमा फेरि सभापति उठ्ने संकेत गरेका हुन्। तपाईं सभापतिमा उठ्ने १०० प्रतिशत हो भन्ने पत्रकारको प्रश्नमा जबाफ दिँदै सिंहले भने, ‘म ग्रासरूटबाट आएको हुँ, लिगेसी पनि छ। जिल्लाबाट नेतृत्व सम्हाल्दै महामन्त्री र उपसभापतिसम्म भएँ, संसदीय दलको उपनेता पनि भएँ। अब संसदीय दल नेता, प्रधानमन्त्री र सभापति हुन बाँकी छ।’ २०७८ को १४ औं महाधिवेशनमा सिंह सभापति उम्मेदवार थिए। सिंहले ३७१ मत ल्याएका थिए। त्यसपछि दोस्रो चरणको मतदानमा सिंहले अर्का उम्मेदवार शेरबहादुर देउवालाई सहयोग गरेका थिए। कांग्रेसमा ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार सभापति पदमा निर्वाचित हुने व्यवस्था छ। सिंहले १४ औं महाधिवेशनका प्रसंग निकाल्दै दोस्रो चरणमा सभापति पदमा देउवालाई सहयो गरेको बताएका छन्। ‘गएको महाधिवेशनमा सेकेन्ड राउन्डमा शेरबहादुर देउवालाई समर्थन गरेको हुँ,’ सिंहले भने, ‘१४ औंमा सभापति उठेका व्यक्ति त्यसभन्दा तल उठ्छजस्तो त लाग्दैन।’उनले पार्टी विधिसम्मत तरिकाबाट सञ्चालन हुनुपर्ने बताए। यही एजेन्डा आफूले पोखरामा भएको १० औं महाधिवेशनदेखि नै उठान गर्दै आएको उनको भनाइ छ। उनले कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताए। महाधिवेशनको इतिहास हेर्दा विधान र संविधानले दिएको प्रावधानअनुसार हुने गरेकोले महाधिवेशन हुने र गरिने पनि उनले बताए। कांग्रेसको १५ औं महाधिवेशन कहिले गर्ने केन्द्रीय समितिले कार्यतालिका बनाइसकेको छैन। अहिले क्रियाशील सदस्यता नवीकरणका काम भइरहेका छन् भने नयाँ क्रियाशील सदस्यता वितरणको काम सुरू नै भएको छैन। कांग्रेस विधानअनुसार चार वर्ष अन्तरालमा महाधिवेशन गर्नुपर्ने हुन्छ।
फेरि कांग्रेस सभापति उठ्ने प्रकाशमान सिंहको संकेत
