Artharajniti ~ पर्यटनको राजधानी घोषणा गरेको एक वर्षपछि पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष घोषणा गरेको छ । घोषणा अनुसार पर्यटकको सङ्ख्या थपिनेमा पर्यटन व्यवसायीहरू नै प्रष्ट छैनन् । घोषणा मात्रै गर्ने तर थप्नुपर्ने परियोजनाबारे वास्ता नगर्ने गुनासो धेरैको छ । तर घोषणा मात्रै हुँदा पनि पोखराको प्रचार अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकोले उनीहरू उत्साही छन् । ‘यही वर्ष लक्ष्य अनुसार पर्यटक आउँछन् भन्ने त होइन । तर घोषणा गरिसकेपछि केही लगानी पर्यटनमा बढ्छ । निजी क्षेत्रबाट पनि बढ्छ, सरकारी क्षेत्रबाट पनि बढ्छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी भन्छन्, ‘अहिलेको प्रचार प्रसारले २०२६ राम्रो हुन्छ । घोषणा मात्रै पनि ठुलो कुरा हो ।’ महानगरले यो वर्ष २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य लिएको छ । हाल पोखरामा १० लाख हाराहारी मात्रै पर्यटकले भ्रमण गर्ने गरेको अनुमानित तथ्यांक छ । लक्षित पर्यटकको सङ्ख्या पुर्याउन अहिले आइरहेका भन्दा दोब्बर आवश्यक हुन्छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भ्रमण वर्ष व्यवसायीकै माग भएको बताउँछन् । ‘राजधानी घोषणापछि केही उत्साह थपिएको छ । भ्रमण वर्षले झनै खुसी छौँ,’ उनले भने, ‘भ्रमण वर्ष व्यवसायीको माग थियो । अब गतिविधि थप्नुपर्छ ।’ पोखरामा मात्रै पर्यटन क्षेत्रको लगानी ७ खर्ब हाराहारी रहेको अनुमान छ ।
सन् २०२० मा सरकारले भ्रमण वर्ष घोषणा गरेपछि लगानी अत्यधिक थपिएको थियो । तर कोरोना संक्रमणका कारण भ्रमण वर्षका कार्यक्रम अघि बढेनन् । ठ्याक्कै तथ्यांक नभएपनि पोखरामा कोभिडपछि पर्यटकको सङ्ख्या बर्सेनि बढिरहेको व्यवसायीहरू बताउँछन् ।राज्यले चुनौती हुने ठाउँहरूमा गाँठो फुकाइदिए लक्ष्य पूरा गर्न सकिने भ्रमण वर्ष अन्तर्गत कार्यसम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराईको दाबी छ । ‘चुनौती छ । सबैभन्दा पहिला राज्यले कनेक्टिभिटीलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्छ । राज्यको तर्फबाट गाँठो फुकाइयो भने लक्ष्य पूरा हुन्छ,’ उनले भने, ‘निजी क्षेत्रको भन्दा राज्यको दायित्व बढी छ ।’ पोखराबाट नेपालका प्रमुख सहरहरूमा हवाई उडान हुनुपर्ने र सडक मार्गको स्तरोन्नति छिटो सक्नुपर्ने उनको सुझाव छ । पोखरा आउने ८० प्रतिशत पर्यटक अहिले आन्तरिक छन् । अहिले महानगरले गरेको लगानी तत्कालै प्रतिफलका रूपमा नआएपनि आगामी वर्ष सङ्ख्या थपिने व्यवसायीहरूको विश्वास छ ।