Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारले ल्याएका अध्यादेशमाथि गुण–दोषका आधारमा बहस गर्ने बताएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले छ बुँदे निर्णय गर्दै गुण दोषका आधारमा भूमिका खेल्नेबारे निर्णय भएको पार्टीका कार्यवाहक प्रवक्ता प्रतिभा रावलले बताउनुभयो । बैठकले सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियतमाथि प्रश्न उठाउँदै आगामी संसद् अधिवेशनमा यसमाथि बहस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । “संसद्को आसन्न अधिवेशनको तीन हप्ताअघि हतारहतार सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्छौँ”, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “यी अध्यादेशका अन्तरवस्तुुगत र सारमाथि रास्वपाका सांसदहरूले गुण–दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको छ ।”
यस्तै, केन्द्रीय सचिवालय सदस्य/पदाधिकारीहरूको नेतृत्वमा आगामी फागुनमा सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशमा दीपक बोहरा र प्रतिभा रावल, कर्णालीमा लिमा अधिकारी, लुम्बिनीमा विपिनकुमार आचार्य, गण्डकीमा शिशिर खनाल, बागमतीमा सन्तोष परियार र बसुमाया तामाङ, मधेसमा विराजभक्त श्रेष्ठ र मनिष झा, कोशी प्रदेशमा सुमना श्रेष्ठ र रमेश प्रसाईँको नेतृत्वमा उक्त संवाद कार्यक्रम सञ्चालन गरिने रास्वपाले जनाएको छ । बैठकले प्रदेश समितिलाई प्रदेश तहमा तीन सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिलाई रास्वपामा आबद्ध गर्न गराउन सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने निर्णय गरेको छ ।