” श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ ” : राष्ट्रपति पौडेल

Machchapuchchre

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौँमा मंगलबार आयोजित छैटौँ श्रम सांसदलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभई  यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै  उनले प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्ने बताए ।“श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ, त्यसैले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ”, उनले भने ।  आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रूपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उनले स्मरण गरे ।“निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ”, राष्ट्रपति पौडेलले भने ।

“नेपालमा सबैभन्दा ठुलो श्रमिकहरूको संख्या कृषि क्षेत्रमा रहेको हुनाले मैले ‘व्यावसायिक कृषि कार्यक्रम’ र कृषि क्रान्तिको कुरा श्रमिकको जीवनमा क्रान्ति ल्याउनकै लागि गरेको हुँ”, उनले भने । राष्ट्रपति पौडेलले अहिले भौतिक विकासका रुपमा भएको प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेको पनि बताए । उनले अजरबैजानको बाकुमा सम्पन्न भएको कोप २९ मा आफूले विश्वका औद्योगिक तथा विकसित मुलुकले गरेको उच्चतम कार्वन उत्सर्जनको मार हाम्राजस्ता देशहरू जस्को कार्वन उत्सर्जनमा कुनै भूमिका छैन तर उच्च जोखिम बेहोर्न परेको विषयलाई प्राथमिकताका साथ उठाएको पनि बताए  । श्रमिकहरूको जीवनस्तर माथि उठाउने र कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने जेटियुसीसीको उद्देश्यको उनले सराहना गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्