Artharajniti ~ सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग दोस्रो दिनको बयान सुरू भएको छ। मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको बयान नसकिएपछि बुधबार बिहान साढे १० बजेदेखि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरू गरिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बयानका लागि लामिछानेलाई बिहान सवा १० बजे जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको जानकारी दिइन्। समय अभावका कारण मंगलबार बयान नसकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतको अलग्गै कोठामा राखिएको थियो। बिहान जिल्ला प्रहरी कार्यालयमै खाना खाएर लामिछानेलाई बयानका लागि लगिएको प्रहरीले जनाएको छ। लामिछानेलाई मंगलबार ३० वटा प्रश्न सोधिएको थियो। गोर्खा मिडिया, सहकारीको रकम हिनामिनासँग सम्बन्धित विभिन्न ७० वटा प्रश्न तयार गरी लामिछानेसँग बयान लिइएको प्रहरीले जनाएको छ। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको कार्यकक्षमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डित र अन्य अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिइरहेका छन्।
बुधबार बयान सकिए लामिछानेलाई साँझ नै पोखरा पठाइने प्रहरीले जनाएको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको भन्दै बयानका लागि रूपन्देही ल्याइएको हो। सुप्रिम सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिमार्फत पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ। विभिन्न सहकारीको बचत रकम गोर्खा मिडियामा लगानी गरेर अपचलन गरेको भन्दै संसदीय विशेष छानबिन समितिले लामिछानेसहित गोर्खा मिडिया नेटवर्क प्रालीका अध्यक्ष गितेन्द्र बहादुर राई र उपाध्यक्ष समेत रहेका पूर्वडिआईजी छविलाल बण्जाडे जोशीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो। राई फरार छन् भने लामिछाने र छविलाला बन्जाडेलाई प्रहरीले पक्राउ गरेको छ। लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए।