प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

Machchapuchchre

Arthaajniti  ~  संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो बस्दैछ। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउनेछन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जाँदैछन्। यद्यपि माओवादी केन्द्रले सदनको अवरोध जारी राख्ने निर्णय गरेको छ। गत भदौ १२ गते नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सदन बोल्ने क्रममा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’लाई ‘हिंसा’को संज्ञा दिएका थिए। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ध्यानाकर्षण भएको भन्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए। सभामुख देवराज घिमिरेले ‘असंसदीय’ नरहेको रूलिङगरेपछि माओवादी केन्द्रले सदनको कामकारबाही अघि बढ्न दिएको छैन। आइतबार बिहान सभामुख घिमिरेले प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गरेका थिए। त्यो बैठकमा भएको कुराकानी पार्टी संसदीय दलमा छलफल गर्ने भन्दै एक घन्टा समय मागेको थियो। माओवादी केन्द्रको सोमबार बसेको संसदीय दलको बैठकले सदनको अवरोध कायमै राख्ने निर्णय गरेकाले आजको बैठक के हुने भन्ने अन्योल कायमै छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालू बर्खे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्