” मेयरले काठमाडौंको सभ्यतामाथि धावा बोले ” : योगेश भट्टराई

Machchapuchchre

Artharajniti   ~  नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यहाँको सभ्यतामाथि धावा बोलेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकपछि बोल्दै सांसद भट्टराईले महानगरपालिकाका मेयर बालेनले ऋषिमुनि, बुद्धले बनाएको सभ्यतामाथि धावा बोलेको बताएका हुन्।‘काठमाडौं महानगरपालिका र सडक विभागका बीचमा केही मतभेदहरू उत्पन्न भए। त्यसको दोष पनि एमालेले बोक्नुपर्ने, एमालेका अध्यक्षले बोक्नुपर्ने, म काठमाडौं महानगरपालिकाका प्रमुखमा बालेन शाह निर्वाचित भएर आएपछि हाम्रो पार्टी अध्यक्षले तबला उपहार दिनुभएको थियो,’ उनले भने, ‘किन ड्रम नदिएर तबला दिनुभयो। ड्रम त उहाँले बजाएरै आउनुभएको थियो। सोची विचार गरिकन तबला उपहार दिनुभयो। त्यसको अर्थ हो अब तपाईं तबलाको धुनमा काम गर्नुहोस्। तबलाको अर्थ हो– करुणा, प्रेम, सद्भाव, संयम हो।’ उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले संयमता गुमाउँदै गएको बताएका छन्।  ‘काठमाडौं महानगर राजधानी हो। यहाँका जनप्रतिनिधिले सभ्यताको प्रतिनिधित्व गर्छन्। नेपालको सभ्यताको प्रतिनिधित्व गर्छन्। ऋषिमुनिहरूले बनाएको सभ्यता छ। बुद्धले बनाएको सभ्यता छ। आज त्यो सभ्यतामाथि धावा बोेलिँदैछ। २०५४ सालमा हामीले चुनाव जितेपछि काठमाडौंलाई सभ्य सहर बनायौं,’ उनले भने। उनले एमालेको पालामा काठमाडौंमा नयाँ सहरहरू बसाएको चर्चा गरे। त्यस्तै धोबी खोला, बागमती करिडोरको योजना सारेको बताए। न्यूरोडमा फुटपाथ विस्तार गर्ने योजना सडक विभागले रोकेपपिछ मेयर बालेनले एमालेमाथि आक्रोश पोख्दै आएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्