पत्रकार महासंघकाे आज उपत्यकासहित देशभर प्रदर्शन

Machchapuchchre

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै आज उपत्यकासहित सातै प्रदेशमा प्रदर्शन गर्दैछ । विश्व अन्तर्रा्ष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’ का अवसरमा दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रदर्शन गर्ने महासचिव रमेश विष्टद्धारा शनिवार जारी विज्ञप्तीमा जनाइएको छ । पत्रकार महासंघ अन्तर्गतको द्वन्द्व पीडित पत्रकार संरक्षण समितिका संयोजक जन्मदेव जैसीका अनुसार उपत्यकाको नयाँ बानेश्वरमा अपरान्ह ४ बजे र प्रदेशको हकमा प्रदेशले तोकेको स्थानमा आइतबार प्रदर्शन भइरहेका छन् ।

मुलुकमा पत्रकारका हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिइएको घटना न्यून रहेको छ । कतिपय अवस्थामा पत्रकारको हत्या गर्ने व्यक्ति वा समुह पहिचान भइसक्दा पनि विभिन्न पक्षले हत्यारालाई संरक्षण दिने गरेकोले कानुनी दायरामा ल्याउन सकिएको छैन । राज्य पक्ष पनि पत्रकारको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाउने र दण्डहीनताको अन्त्य गर्ने विषयामा गम्भीर भएको पाइदैन । जसले गर्दा पत्रकारको हत्या गर्ने वा प्रेस स्वतन्त्रता हनन्मा संलग्नले उन्मुक्ति पाइरहेका छन् ।

नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख भएअनुसार नेपालमा २०५२ सालदेखि सुरु भएको सशस्त्रद्वन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३७ जना पत्रकार मारिएका छन् भने ५ जना पत्रकार वेपत्ता अवस्थामा छन् । मारिएका ३७ जना पत्रकारमध्ये ५ जना पत्रकारको हत्यामा संलग्नलाई कारबाही गरी पीडित पक्षलाई न्याय दिलाइएको छ भने ४ जनाको न्यायिक प्रक्रियामा रहेको छ । अन्यको हकमा अझै प्रभावकारी ढंगले कानुनी कारबाही अघि बढ्न सकेको छैन । वेपत्ता भएका ५ जना पत्रकारको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेका छैन भने पीडित परिवारले न्याय पाएका छैनन् ।

त्यस्तै महासंघको सञ्चार अनुगमन ईकाइका अनुसार २०७४ सालमा ६३ वटा र २०७५ सालमा ६० वटा तथा २०७६ बैशाखदेखि हालसम्म २६ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु अभिलेख भएका छन् । प्रेस स्वतन्त्रता हनन्का घटनाहरुमा पत्रकारमाथि धम्की, दुव्र्यवहार, आक्रमण, समाचार संकलनमा अवरोध जस्ता घटनाहरु बढी छन् । यस्तै पत्रकारलाई राजनीतिक आस्थाका आधारमा पक्राउ गर्ने क्रम बढ्दो छ ।
द्वन्द्वकालमा मारिएका पत्रकारका परिवालाई न्याय र दोषीलाई कारबाहीका लागि नेपाल पत्रकार महासंघले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको भएता पनि गम्भीर छानबिन र थप प्रक्रिया अघि बढ्न सकेको छैन । त्यस्तै वेपत्ता पत्रकारको हकमा पनि सत्यतथ्य पत्ता लगाउने विषयमा ठोस प्रगति भएको पाइदैन ।

महासचिव विष्टद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार तथा सञ्चारमाध्यममाथि हुने सबैखाले आक्रमणको अन्त्य गर्न, पत्रकारको हत्या गर्ने तथा आक्रमणमा संलग्नको पहिचान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गरी पीडित पक्षलाई न्याय तथा दोषीमाथि कारबाही गरेर दण्डहीनताको अन्त्य गर्न एवं पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति हुनुपर्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्