काठमाडौँ महानगरको ” साइवर सेक्युरिटी निःशुल्क तालिम “, युवाहरूमा उत्साह !

Machchapuchchre

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाले १० वटा महानगर गौरव योजनामध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको औपचारिक समुद्घाटन गरेको छ । मंगलबार सभागृहको हलमा महानगरकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा कार्यक्रमको औपचारिक उद्घाटन गरियो । एक अनलाइनसहित ३४ वटा विधाका तालिमका कार्यक्रमहरू तय गरेको महानगरले मंगलबारबाट साइवर सेक्युरिटी तालिमको शुभारम्भ गर्‍यो । चालु आ. व. मा १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्यसहित कार्यक्रमको शुभारम्भ गरिएका महानगरकी उप–प्रमुख सुनिता ढंगोलले बताइन् । कार्यक्रमका लागि महानगरपालिकाद्वारा १० करोड रुपैयाँ विनियोजन गरिएको र निरन्तर तीन वर्ष ३० करोड बजेटमा प्रत्येक वर्ष १५–१५ हजार लाई तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको कार्यालयका सचिवालय सदस्य सुदिप ढकाल बताए । मंगलबार उद्घाटन गरिएको ‘साइवर सेक्युरिटी’ तालिमका लागि इसी काउन्सिल र ग्याप टेक्नोलोजीले महानगरसँग सहकार्य गरेका छन् । तालिममा बद्लिँदो प्रविधि र बढ्दो डिजिटल प्रयोगका कारण भविष्यमा साइवर सुरक्षाकै क्षेत्रमा करियर बनाउन चाहने युवाहरूको भीड नै लागेको छ । साइबर सुरक्षा चुनौतीमा १सय ६० देश मध्ये नेपाल ९४ औँ स्थानमा रहेको र साइबर सम्बन्धी घटनाहरू वार्षिक ३ सय ४० प्रतिशतले वृद्धि भइरहेको अवस्थामा यस प्रकारका तालिमले त्यसलाई घटाउनेमा महानगरले विश्वास लिएको छ भने तालिमका लागि सहकार्य गर्ने संस्था ईसी काउन्सिल र ग्याप टेक्नोलोजीले पनि युवाहरूमा अवसरको ढोका खुलाउन तालिमले ठुलो भूमिका निर्वाह गर्ने बताएका छन् ।

तालिममा सहभागिताका लागि काठमाडौँ महानगरले निश्चित मापदण्ड तय गरेका छ । जसमा काठमाडौँ महानगरको स्थायी बासिन्दा  हुनु पर्ने वा महानगरका करदाता हुनु पर्ने वा महानगरमा अस्थायी बासिन्दा हुनुपर्ने अथवा फोहोर प्रभावित ल्याण्डफिल साइट क्षेत्रका बासिन्दा हुनुपर्ने छ। यस्तै नेपाली नागरिकता, बसाइ सरी आएको भए त्यसको कागजात, भाडामा बस्ने भए घर बहाल सम्झौता, कर दाता भए कर तिरेको प्रमाण र ल्याण्डफिल साइट क्षेत्रको बासिन्दा भए सोको प्रमाण बोकेर मात्र तालिममा सहभागी हुन पाइने छ । देशमा अवसर भए पनि सीपको अभावले विदेश जानै पर्ने अवस्थाबाट मुक्ति पाइन्छ कि भन्ने धेरैको आशा छ । तालिमका लागि रुचि राखेर सभा गृह आउनेहरूको अनुहारहरूले पनि धेरै आशा राखेका थिए ।  वीरगन्जका सरोज यादवले भने, ‘यो निःशुल्क तालिम हो र भविष्यमा सूचना प्रविधिको क्षेत्रमा अवसर पाइन्छ कि भनेर तालिममा सहभागी हुने रुचि राखेको हुँ’, उनी थप्छन्,‘अबको युवा पुस्ता कलेज जीवनबाटै तयार हुनु पर्छ र पछि सरकारलाई केही दिन सकौँ यही आशले सभागृह आएको हुँ।’ सरोज जस्तै विद्यार्थीहरू जो नेपालमै भविष्य बनाउने सोचमा सभागृह छिरेका छन् । कम्प्युटर हार्डवेरिङ र सिसिटिभी जडान तथा मर्मतको तालिमका लागि आएका सुदिप ढुंगानाको पनि सीप सिकेर स्वदेशमै केही गर्ने रहर भएको सुनाउँछन् । रोजगारीका लागि मात्र नभएर बढ्दो डिजिटल सेवाको प्रयोगमा पनि साइवर सुरक्षाका बारेमा जान्न आवश्यक छ भनेर तालिम लिन रहर गर्नेको सङ्ख्या पनि उतिकै छ भने विद्यालय वा कलेमा लिएको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक बनाउन महानगरको तालिमले सहयोग पुर्‍याउँछ कि भन्ने लोभले पनि थुप्रै युवाहरू सभागृह पुगेका छन् । महानगरका सचिवालय सदस्य ढकालले दिएको जानकारी अनुसार साइबर सुरक्षा सम्बन्धी तालिमको कोर्स विभिन्न ७ वटा प्याकेजमा रहेर तयार गरिएको र उक्त कोर्स पूरा गरिसकेपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै सर्टिफिकेट प्रदान गरिने छ । जसले युवाहरूलाई देश तथा विदेशमा रोजगारीको अवसर प्रदान गर्ने छ भने ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने मूल नारा पनि सफल हुने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्