Artharajniti ~ नेपाल विद्युत प्राधिकरणको ‘लगसिट’मा रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड लाइनको सुविधा लिएको भेटिएको छ। सबस्टेसनको ‘लगसिट’ मा कम्पनीले लोडसेडिङको समयमा दैनिक २४ घण्टासम्म बिजुली प्रयोग गरेको भेटिएको हो। कम्पनीले विद्युत प्राधिकरणको कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतको इटहरी वितरणको केन्द्रको ३३/११ केभी खनार सबस्टेसन, सुनसरीबाट डेडिकेटेड लाइनको सुविधा लिएको थियो। २०७२ बैशाख १ गतेदेखि नै कम्पनीले १९ घण्टासम्म बिजुली प्रयोग गरेको पाइएको छ। जबकि त्यतिखेर देशमा ९ घण्टा लोडसेडिङ थियो। कम्पनीले त्यतिखेर दैनिक ५ घण्टा मात्रै लोडसेडिङ ब्यहोरेको रेकर्डबाट देखिन्छ। २०७२ भदौ १० गते दैनिक २० घण्टा बिजुली पाएको कम्पनीले कात्तिकमा आइपुग्दा २४ सै घण्टा बत्ती प्रयोग गरेको देखिएको छ। त्यसयता अधिकांश समय २० घण्टा बिजुली प्रयोग गरेको कम्पनीले २०७५ जेठमा २४ घण्टा नै विद्युत सेवा पाएको देखिन्छ। २०७५ जेठको अन्तिममा प्राधिकरणले लोडसेडिङ अन्त्यको घोषणा गरेको थियो। लोडसेडिङ अन्त्यको घोषणापछि पनि प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बिलिङ गर्न भने छोडेन। लोडसेडिङ हटेको दुई वर्षपछि २०७७ जेठ ७ गतेबाट प्राधिकरणले नयाँ ट्यारिफ लागू गरेर डेडिकेटेड र ट्रंक लाइनको व्यवस्था हटाएको थियो। नेपाल उद्योग परिसंघले दुई साताअघि गरेको पत्रकार सम्मेलनमा रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशीकान्त अग्रवालले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेका सबै उद्योगीले यसअघि नै बक्यौता तिरिसकेको दाबी गरेका थिए। ‘हामीले एक युनिटको पनि महसुल तिर्न बाँकी छैन। प्राधिकरणले व्यर्थैमा उद्योगको लाइने काट्ने काम गरेको छ। यस विषयमा सरकारले नै विवाद समाधानको पहल लिनुपर्छ,’ उनले भनेका थिए, ‘कानुन अनुसार तिर्न बाँकी बिल छ भने प्राधिकरणले देखाओस्, हामी हिसाब बुझाउन तयार छौं।’ प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेपछि परिसंघले पुस ९ गते पत्रकार सम्मेलन गरेको थियो। विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले टीओडी मिटर नै सबैथोक नभएको बताएका छन्। उनका अनुसार प्रयोग गरेको बिजुलीको रेकर्ड ‘लगसिट’मा हुन्छ। सोही आधारमा प्राधिकरणले बिलिङ गरेको हो। उद्योगीहरु टीओडी मिटर नभई बक्यौता नतिर्ने पक्षमा छन् भने प्राधिकरण नतिरेसम्म काटिएको लाइन जडान नगर्ने अडानमा छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति