एमसीसीविरुद्ध बोल्दा विद्यार्थीलाई गिरफ्तार गरी झुटा मुद्दा लगाइएको भन्दै क्रान्तिकारीद्वारा विरोध

Machchapuchchre

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले सीमा अतिक्रमण र एमसीसी सम्झौताको विरोध गरेकै कारण आफ्ना नेता–कार्यकर्ता गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । संगठनले भृकुटीमण्डपमा गर्न लागेको विरोध प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरी गिरफ्तार विद्यार्थीलाई मुद्दा चलाएको भन्दै घोर भत्सर्ना गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीकी क्याम्पस जिल्ला समितिकी अध्यक्ष तारा संजाल रावलले विज्ञाप्ति जारी गरेर गिरफ्तार विद्यार्थीलाई रिहाईको माग गरेकी छन् ।

“पुस १३ गते एमसीसी जस्तो राष्ट्रघाती सम्झौताको विरोधमा प्रदर्शनी मार्ग भृकुटीमण्डपमा गरिएको विरोधे प्रदर्शनको क्रममा हाम्रो संगठनका क्याम्पस जिल्ला समिति सहसचिव गगन गिरी र सदस्यहरु, विकास साह, मनोज बुढा, उपेन्द्र बिक, जगतप्रकाश बुढालगायत विद्यार्थी साथीहरुलाई प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको छ । उक्त कार्यको घोर भत्सर्ना गर्दै गिरफ्तार सम्पूर्ण विद्यार्थीको तत्काल रिहाईको माग गर्दछौं” जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले अमेरिका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) गरेको सम्झौता राष्ट्रघाती भएको भन्दै अखिल क्रान्तिकारीले विरोध गर्दै आएको छ । उसले एमसीसी सम्झौता रद्द गर्नुपर्ने बताउँदै आएको छ । त्यसैगरी अखिल क्रान्तिकारीले काठमाडौँसहित देशभर सीमा अतिक्रमणविरुद्ध विरोध प्रदर्शन गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्