Artharajniti ~ रास्वपा अध्यक्ष रवि लामिछानेले एक/दुईवटा आक्रमण र मुद्दाबाट आफू विचलित नहुने जनाएका छन् । शनिबार पोखराको अमरसिंह चोकमा भएको सभामा उनीमाथि मकैको खोया प्रहारपछि लामिछानेले यो अहिलेको नेतृत्वविरुद्ध जनताको वितृष्णाको उपज भएको टिप्पणी गरेका हुन् । खोया प्रहार गर्ने व्यक्ति र उनको परिवारलाई भेट्न आफू जाने सुनाउँदै उनले थपे, ‘न मुद्दा, न मामिला उहाँलाई बुझाइदिनु होला । माला लगाएर घर छाडिदिनू होला । देशको पूर्व उपप्रधान तथा गृहमन्त्री भएकाले यो सुरक्षाकर्मी साथीहरूलाई मेरो अनुरोध र निर्देशन पनि भयो । म उहाँको परिवारलाई भेट्न म छुट्टै जानेछु ।’ उनले प्रहारको बदलामा एउटा फूल रोपेर जाने सुनाए । उनी भन्छन्, ‘मनबाट गल्ती भयो भनेर महसुस हुने गरी काम गरी फेरि यही चोकमा आएर कुरा गर्ने छु ।’ यसलाई जनताले दिएको चेतावनी ठानेको उनले सुनाए । लामिछानेले आफूले नबिराएको दाबी गर्दै आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे । ‘हामी आत्तिएका छैनौँ, अघिल्लो सात जन्मको हिसाब निकाले पनि अनियमितता पत्ता लगाउन सक्दैनन् । जति पटक लडिए पनि उडेर हिँड्छु । एक आक्रमण, मुद्दाबाट पछि हट्ने सुविधा मलाई छैन ।’उनले सहकारी पीडितलाई सम्बोधन गर्न सरकारसँग माग गरे । मिटरब्याज जस्तै सहकारी र लघुवित्त पीडितको मुद्दा सबैभन्दा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता उनले जनाए । मित्रमिलन सहकारीको प्रतिवेदन आफूलाई प्राप्त भएको उनले सुनाए । आफू आक्रमण, धाक धम्कीबाट नडराई आफ्नो बाटोमा हिँडेको मान्छे भएको तर्क गर्दै उनले एउटै दुःख मान्छेलाई थचक्क बसाल्न पर्याप्त हुने भए पनि आफू त्यसको अपवाद भएको जिकिर गरे । ‘म धेरै दुःख सहँदै आएको मान्छे हो । अब त नयाँ प्रहार पनि सुरु भएको रहेछ । अन्तिम साससम्म पनि जनतासँग गरेको वाचा पूरा गर्न तयार छु,’ लामिछानेले भने । संसारको सबैभन्दा विकसित देशमा भनेको जस्तो जीवन छाडेर देशको अवस्था बदल्न आएको सुनाउँदै लामिछानेले राजनीति छाडिसकेपछि आफैँ परिश्रम गरेर खाने र राज्यको सुविधा नलिने वाचा गरे ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति