Artharajniti ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा सहभागी रहे। यो कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसँगै छिमेकी महानगर, काठमाडौंका मेयर बालेन शाह पनि सहभागी थिए। प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले कुरा राखेका थिए। मेयर शाहले संघीय सरकारबाट कुनै कुनै कुरामा चाहेकोजस्तो सहयोग नमिलेको गुनासो गरेका थिए। प्रधानमन्त्रीले चाहने हो भने खोला अतिक्रमणका विषय पाँच मिनेटमा सल्टिने पनि उनले बताएका थिए। ‘केही कुरामा भने काठमाडौं र ललितपुर फरक दखिन्छ। उदाहरणका लागि काठमाडौंमा खोला अधिक्रमण छ, ललितपुरमा खोला अतिक्रमण छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा छ। एकदिन दुवै अतिक्रमण हट्छ भन्ने आशा गर्छौं,’ मेयर शाहले भने, ‘कुनै-कुनै अतिक्रमण स्थानीय सरकार आफैंले रोक्न सक्छौं तर खोला अतिक्रमण सक्दैनौं। त्यसैले प्रधानमन्त्रीलाई फेरि आग्रह गरेँ, यदि सम्माननीयज्यूले चाहनुभयो भने यहाँबाट अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो। तर उहाँले चाहनुभयो भने मात्र। त्यो पाँच मिनेटदेखि एक घण्टासम्ममा सल्टिने समस्याहरू पनि छन्।जुन मेयरहरूले मात्र र लइन्फोर्समेन्टले मात्र पनि सक्दैन। त्यस्ता कुरामा संघ सरकारले सहयोग गर्न पर्ने हुन्छ।’ उनले ललितपुर र काठमाडौं महानगरपालिका साथसाथै विकास हुनुपर्ने पनि बताए। तर केही कुराहरू उपत्यकाका मेयरहरू बसेर सल्टाउन सक्ने भए पनि कुनै कुरा संघीय कानुन र स्थानीय कानुनमा बाझिँदा समस्या भएको मेयर शाहले बताए। ‘फोहोरमैला व्यवस्थापन जुन बञ्चरेडाँडा सिस्डोलमा गरिँदै आएको छ। त्यसलाई स्थानीय सरकार आफैंले गर्न सक्ने कुरालाई कानुनी बाधा अड्चन परेका छन्। त्यसलाई फुकाइदिन अनुरोध गर्दछु। जसले गर्दा काठमाडौं उपत्यका फोहोरमैला व्यवस्थापन दीर्घकालिन होस् भन्ने चाहना छ,’ मेयर शाहले भने।आफ्ना कुरा राखेर मेयर शाह कार्यक्रमबाट निस्किए। मेयर शाहले आफ्ना कुरा राख्ने तर अरूका कुरा नसुन्ने गरेको भन्दै कार्यक्रमकै मञ्चबाट प्रधानमन्त्री दाहालले यसो गर्दा आफूलाई इरिटेसन हुने बताए। ‘अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘आफूले भन्ने कुरा जे-जे भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, प्रमुख अतिथिले बोल्ने बेलासम्म बस्नुपर्छ।’ बागमती किनारका सुकुम्बासी बस्ती वा तीनकुने र फोहोरमैला व्यवस्थापनका निम्ति मिलेर काम गर्न आफूले पहल गरेको प्रधानमन्त्री दाहालको भनाइ छ।
‘