“पैसा खाएर बसेको मेयरहरूको बैठक बहिष्कार गरेको हो “- बालेन शाह

Machchapuchchre

Artharajniti  ~  बुढानिलकण्ठको एउटा रिसोर्टमा मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार राति आफ्नो सामाजिक सञ्जालमा त्यसबारे टिप्पणी गरेका छन्।उपत्यकाका अन्य १७ वटा नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बैठक राखेकाले बहिष्कार गरेको उनले बताएका छन्।उपत्यकाका अन्य नगरपालिका प्रमुखहरूमाथि ‘देश बेच्न खोजेको’ आरोप लगाउँदै मेयर बालेनले काठमाडौं महानगर भने बिक्रीमा नरहेको टिप्पणी गरेका छन्।’१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन,’ बालेनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ।’चल्दाचल्दैको बैठक बीचैमा छाडेर हिँडेका मेयर बालेनले यति आक्रोशित टिप्पणी गरेपछि बैठकमा आखिर के भएको थियो भन्ने प्रश्न उठेको छ।

प्रत्येक महिना बस्ने उपत्यका मेयर्स फोरमको बैठकमा हरेकचोटि विभिन्न एजेन्डामाथि छलफल हुन्छ। बैठकमा छलफल हुने एजेन्डा मेयर्स फोरमको सचिवालयले तय गर्छ। त्यसैअनुरूप मंगलबारको बैठकमा मेयर्स फोरमको आधिकारिक विधान प्रस्तुत गर्ने, उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे छलफल गर्ने र फोहोर व्यवस्थापनको ठेक्का पाएको निजी कम्पनी नेपवेस्टले आफ्नो प्रस्तुति दिने एजेन्डा तयार गरिएको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले जानकारी दिए।उनका अनुसार नेपवेस्टले सम्झौताअनुरूप काम नगरेको हुँदा ठेक्का रद्द गर्न नेपाल सरकारसँग आग्रह गर्ने निर्णय अघिल्‍लो बैठकले गरेको थियो। यसका लागि नेपाल सरकारलाई पत्रसमेत लेखेको उनले बताए।

चन्द्रागिरीका मेयर गिरीले अगाडि भने, ‘नेपवेस्टसँगको ठेक्का रद्द गर्ने भनेर अघिल्लो बैठकले नै निर्णय गरिसकेको भए पनि नेपवेस्टले यसपालि बैठकमा जनप्रतिनिधिहरूसामु आफ्नो प्रस्तुति दिने र सबैको कुरा सुन्ने भन्दै समय मागेको थियो। मेयर्स फोरमको सचिवालयले त्यसैअनुरूप प्रस्तुति दिने कुरा एजेन्डामा समावेश गरेको थियो।’बैठक आयोजना भएको बुढानिलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले काठमाडौंका मेयर बालेनले मेयर्स फोरमको औपचारिक बैठकको नैतिक मर्यादासमेत नराखेको टिप्पणी गरे।’मेयर्स फोरमका अध्यक्षले एजेन्डा प्रस्तुत गरूञ्जेल सुन्ने धैर्य हुनुपर्‍यो नि,’ उनले भने, ‘अध्यक्षले एजेन्डा प्रस्तुत गरिसकेपछि उहाँलाई बोल्न दिने त भनिएकै थियो। तै पनि उहाँले बीचमै बैठक छाडेर नैतिक मर्यादासमेत राख्नुभएन। उहाँलाई अध्यक्षले एजेन्डा प्रस्तुत गर्नुअघि नै बोल्न पाउनुपर्छ भन्ने लाग्यो।’मंगलबारको बैठकमा फोहोर व्यवस्थापनबारे निजी कम्पनी नेपवेस्टले प्रस्तुतिकरण दिए पनि त्यसबारे कुनै निर्णय नभएको मेयर अधिकारीले बताए।उपत्यकाकै अर्का एक मेयरले बालेन शाह बैठकको सुरूमै आफूले बोल्न नपाएको भन्दै सन्किएर निस्किएको बताए। हामीले यसबारे मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहसँग कुरा गर्दा उनले नेपवेस्ट कम्‍पनीको प्रस्तुति रहने एजेन्डा सुनेपछि मेयर बालेनले आपत्ति जनाएको बताए।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्