अर्थ राजनीति ~ नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले डा. दीपेन्द्र रोकायाद्धारा लिखित “कर्नालीको मर्म” नामक पुस्तक विमोचन गर्नु भएको छ।
उहाँले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा उक्त पुस्तक विमोचन गर्नु भएको हो।
प्रधानमन्त्री प्रचण्डले डा. रोकायाको पुस्तकले कर्णालीको इतिहास¸ अहिलेको वास्तविकता र भविश्यको योजना प्रस्तुत गरेकोमा खुशी लागेको बताउनुभयो। उहाँले जनयुद्ध यता कर्णालीको वास्तविकता सार्वजनिक हुँदै आउन थालेको पनि बताउनुभयो।
अध्यक्ष प्रचण्डले पार्टी विसर्जन र पुनर्निमाणको दोसाँधमा रहेको चर्चा गर्दै हर हालतमा पार्टी निर्माण गर्ने संकल्प लिएर तीन महिने अभियान सञ्चालन गरेको दावी गर्नुभयो। उहाँले भन्नुभयो¸ “यो पार्टी निर्माण गर्ने र समाजवादी क्रान्तिको तयारी हो।”
अध्यक्ष प्रचण्डले पार्टी कार्यकर्ताहरुलाई तीन महिना जनताको बीचमा पुग्न अपिल गर्दै आफु पनि सातै प्रदेशको सात वटा वडामा पुग्ने बताउनुभयो। सोही अवसरमा उहाँले नेपाल सरकारले नेपाली जनतामा आशा जगाउने काम नयाँ उचार्इमा गर्दै जाने पनि बताउनु भयो।
कर्नालीका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दीपेन्द्र रोकायाको खोजपूर्ण लेखनले “कर्नालीको मर्म” सार्वजनिक भएको बताउनु भयो। उहाँले भन्नुभयो¸ “यस पुस्तकबाट कर्णालीको वास्तविकता बुझ्न सहयोग पुग्नेछ।”
नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज मातृका प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका ऊर्जा मन्त्री शक्ति बस्नेत¸ कर्णली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र कर्णाली प्रदेश समिति अध्यक्ष विमला केसीले सरकार र पार्टीको योजना सुनाउनु भएको थियो। सोही अवसरमा प्रदेश समितिले पार्टीको तीन महिने अभियानका खट्ने ७९ पालिका र ७१८ वडा इञ्चार्जहरुको नाम सार्वजनिक गरेको छ।