आज २१० औँ भानु जयन्ती, विभिन्न कार्यक्रमका साथ मनाइँदै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठुलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए।  विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ। भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ। त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नातकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन्। यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभात फेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ। भानुभक्तको जन्म जयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ।

साथै ,  राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्य नेपाली राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन् । भानुभक्तको २१० औं जन्मजयन्तीको अवसरमा सन्देश दिँदै राष्ट्रपति पौडेलले उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसांस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्